काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले स्वास्थ्य क्षेत्रका संस्था तथा सुपर मार्केटसँग समन्वय गरी अगाडि बढ्ने अभिप्रायका साथ विभिन्न स्थानमा अवस्थित संस्थाहरूसँग सम्झौता गरेको छ । सम्झौतापश्चात् महालक्ष्मी विकास बैंकका डेबिट अथवा क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ प्रयोग गर्ने ग्राहकहरूले उक्त संस्थाहरूका विभिन्न सेवाहरूमा विशेष छुट प्राप्त गर्न सक्नेछन् । उक्त संस्थाहरू र प्राप्त गर्न सकिने छुटहरूअन्तर्गत पोखराको लेखनाथ सिटी हस्पिटलको सेवामा पाँचदेखि २५ प्रतिशतसम्म, ओरो प्लस डेन्टल क्लिनिक पुल्चोकमा पाँचदेखि १० प्र्रतिशतसम्म, ए एन्ड ए हेल्थ क्लब रुपन्देहीमा पाँच देखि १९ प्रतिशत र एनजी मार्केट्स तिलोत्तममा एक दशमलव पाँचदेखि १० प्रतिशतसम्म रहेको बैंकले जानकारी दिएको छ ।
यस किसिमको सहकार्यबाट बैंकका डेबिट अथवा क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ प्रयोग गर्ने ग्राहकहरू प्रत्यक्षरूपमा लाभान्वित हुने विश्वास बैंकले लिएको छ । यसका साथसाथै डिजिटल युगसँग नेपाली जनतालाई साक्षात्कार गराउने उद्देश्यले बैंकले विभिन्न शाखाहरूबाट वित्तीय जनचेतनामूलक कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ ।