काठमाडौं । संयुक्त राज्य अमेरिकाको अन्तर्राष्ट्रिय विकास नियोग (युएसएआईडी) ले नेपलामा संचालन गरेको किसान २ परियोजना समापन गरेको छ । सो परियोजना सम्पन्न भएको अवसरमा युएसएआईडीले बिहीबार एक विशेष कार्यक्रम आयोजना गरेको थियो ।
सो कार्यक्रममा कृषि उत्पादकत्व र कृषक तथा कृषि व्यवसायको आय वृद्धिको दिशामा परियोजनाले हासिल गरेका महत्वपूर्ण उपलब्धिहरू प्रदर्शन गरिएका थिए । जुलाई २०१७ देखि जुलाई २०२४ सम्म सञ्चालित किसान दुई परियोजनाले ७३ प्रतिशत महिला र ६३ प्रतिशत सीमान्तकृत समूहका गरी दुई लाख ७० हजार छ सयभन्दा बढी किसानहरूलाई सहयोग गरेको छ । युएसएआईडी, नेपाल सरकार र निजी क्षेत्रबीचको बलियो साझेदारीले नेपालका २५ जिल्लामा कृषि उत्पादकत्व र बिक्रीमा उल्लेखनीय वृद्धि गरेको छ ।
किसान दुई परियोजनाले एक सय ७७ फर्महरूसँग साझेदारी गरी लगभग छ सय कृषि सल्लाहकार र किसानहरूलाई बजार र वित्तमा पहुँच पाउन र थप प्रतिस्पर्धी बन्न मद्दत पुर्याउनुका साथै ३५ हजार भन्दा बढी कृषक परिवारलाई सिँचाइ प्रणाली उपलब्ध गराएको छ । यस सहयोगले उत्पादन एक सय ३९ प्रतिशतले बढाउन र ४७ करोड ६० लाख अमेरिकी डलर बराबरको कृषिजन्य बिक्री गर्न मद्दत गरेको जनाइएको छ । जलवायुका दृष्टिले उपयुक्त कृषि अभ्यासहरू र नयाँ डिजिटल प्रविधिको प्रयोगलाई प्रवर्द्धन गर्दै युएसएआईडीले किसानहरूलाई जलवायु परिवर्तनका प्रभावहरूको राम्रोसँग सामना गर्नसक्ने गरी सशक्त बनाएको छ ।
अमेरिकी दूतावासका उपप्रमुख जेसन मिक्सले नेपाली किसानहरूलाई उनीहरूको आय वृद्धि गर्न, स्थानीय बजारमा स्वस्थकर खाद्यपदार्थमा उनीहरूको पहुँच विस्तार गर्न र मुलुकको समग्र खाद्य सुरक्षा तथा समृद्धिमा सुधार ल्याउन नेपालको कृषिको सम्भाव्यतालाई उपयोग गर्न मद्दत गर्न पाउँदा गौरवान्वित भएको बताए । कार्यक्रममा कृषि तथा पशुपन्छी विकासमन्त्री ज्वालाकुमारी साहले युएसएआईडीको किसान दुई परियोजनाले राइस मिल मोडेल र मेज एग्रिगेसन मोडेल प्रस्तुत गरेको बताइन् । यसले मिलवाला र सञ्चालकहरूलाई किसानलाई सहयोग गर्न र उचित मूल्यमा उत्पादन खरिद गर्न मद्दत गरेको उनले जानकारी दिइन् । किसान २ ले कृषि विकास रणनीतिको पुनरावलोकन र प्राथमिकीकरणमा सहयोग पुर्याउँदै संयुक्त क्षेत्र समीक्षामा पनि सहयोग पुर्याएको उनको भनाइ थियो ।
किसान २ परियोजनाको समापन समारोहमा नेपाल सरकारलाई सहयोग पुर्याउन ज्ञान सामग्री र प्रविधि हस्तान्तरण गरिएको थियो । यसले कृषिमा निजी क्षेत्रको भूमिका विस्तार गर्न, लगानी आकर्षित गर्न र नेपालमा कृषि उत्पादन तथा आर्थिक समृद्धि बढाउन मद्दत गर्नेछ । कार्यक्रममा विभिन्न किसान र निजी क्षेत्रका निकायहरूको पनि सहभागिता रहेको थियो । सन् २०११ देखि अमेरिकी सरकारको फिड द फ्युचर कार्यक्रमले आठ लाखभन्दा बढी नेपाली किसानहरूलाई कृषि उत्पादकत्वमा सुधार र बिक्री वृद्धिमार्फत आय बढाउन मद्दत गर्न १८ करोड १० लाख अमेरिकी डलरभन्दा बढी सहयोग प्रदान गरिसकेको छ ।