काठमाडौं । एफएओको मुख्यालय इटालीको रोममा भएको विश्वभरका किसानहरुको छाता संगठन विश्व किसान संगठन (डब्लुएफओ) को सञ्चालकमा नेपालका खेमबहादुर पाठक निर्वाचित भएका छन् ।
नेपाल कृषि सहकारी केन्द्रीय संघ लिमिटेड, साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडका अध्यक्ष तथा राष्ट्रिय सहकारी महासंघका उपाध्यक्ष समेत रहेका पाठक एसिया प्रशान्तबाट निर्विरोध निर्वाचित भएका छन् । पाठकसहित विश्व किसान संगठनको सञ्चालकमा विश्वभरबाट छ जना निर्वाचित भएका छन् । विश्वभरका सक्रिय किसान संघ संगठनहरूको छाता संगठनका रूपमा रहेको विश्व किसान संगठनमा नेपालको तर्फबाट सञ्चालक समितिमा निर्वाचित हुने पाठक पहिलो व्यक्ति हुन् । किसान र कृषि क्षेत्रको रुपान्तणका क्षेत्रमा विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आएको विश्व किसान संगठनको उच्चतह सञ्चालकमा नेपालको तर्फबाट प्रतिनिधित्व हुनु आफैँमा खुसी र गौरवको कुरा भएको नेपाल कृषि सहकारी केन्द्रीय संघ लिमिटेडले जनाएको छ ।