फुड सप्लिमेन्टप्रयोगमा नेपालीहरुले रुचि देखाउन थालेका छन् । चालू आर्थिक वर्षमा मात्रै पाँच लाख १० हजार केजी फुड सप्लिमेन्ट आयात भएको छ । तर, यसको प्रयोगबारे पोषणविद्हरूबीच भने फरक मत छ । शरीरमा भिटामिन, मिनरल र अन्य आवश्यक तत्व खानाबाट पूर्ति नभएको भन्दै नेपालीले हरेक वर्ष लाखौँ केजी फुड सप्लिमेन्ट लिने गरेका छन् । उनीहरू फुड सप्लिमेन्ट अर्थात् खाद्यपूरक अर्थात् न्युट्रास्युटिकल औषधिको रूपमा खाइरहेका छन् । प्रेस्क्रिप्सनका आधारमा र बजारबाट सीधै किनेर अत्यधिक मात्रामा न्युट्रास्युटिकलको प्रयोग भइरहेको छ । फुड सप्लिमेन्ट भारतलगायतका देशबाट आयात भइरहेका छन् । न्युट्रास्युटिकलले शरीरमा पुर्‍याउने फाइदा–बेफाइदा र कस–कसले बिक्री–वितरण गर्नेबारे भन्नेचाहिँ विवाद छ । फार्मेसी, औषधि पसल र खुला बजारमा समेत फुड सप्लिमेन्टका रूपमा प्रयोग हुने औषधि पाइन्छन् । नेपालमै उत्पादन र आयात हुने गरी करिब साढे २३ सयभन्दा बढी उत्पादन खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागमा दर्ता छन् । खाद्यविज्ञ तथा चिकित्सकको सिफारिसमा नेपालमा फुड सप्लिमेन्ट बिक्री–वितरण हुँदै आएका छन् । फुड सप्लिमेन्ट औषधिजस्तै संरचनामा झोल, पाउडर, क्याप्सुललगायतका आकारमा बजारमा पाइन्छन् । विभागको तथ्यांकअनुसार नेपालमा अढाई हजारको हाराहारीमा फुड सप्लिमेन्ट प्रयोगमा छन् । एउटै फुड सप्लिमेन्ट विभिन्न कम्पनीको उत्पादनको रूपमा बजारमा उपलब्ध छन् । नेपालमा १७ वटा उत्पादन कम्पनीले फुड सप्लिमेन्ट उत्पादन गर्दै आएका छन् । औषधिका रूपमा फुड सप्लिमेन्टको प्रयोगलाई लिएर नियमनकारी निकाय र सरोकारवालाबीच विवाद रहेको छ। फुड सप्लिमेन्ट औषधिको नाममा बेच्न मिल्दैन । अस्पताल र फार्मेसीहरूले बेचेको पाइएमा औषधि व्यवस्था विभागकाले कारबाही गर्ने बताएका छन् । अर्कोतर्फ नेपाल चिकित्सक संघले फुड सप्लिमेन्ट बिरामीको आवश्यकताका आधारमा सिफारिस गर्न मिल्ने बताउँदै आएको छ । गत २३ जेठमा विज्ञप्ति जारी गर्दै नेपाल चिकित्सक संघले के–कस्ता औषधि सिफारिस गर्ने वा नगर्ने भन्ने कुरा नियमन गर्ने आधिकारिक निकाय नेपाल मेडिकल काउन्सिल भएको भन्दै विभागको परिपत्रको औचित्यमाथि नै प्रश्न उठाएको थियो । नेपाल मेडिकल काउन्सिलले कुनै आधिकारिक धारणा व्यक्त गरेको छैन । विशेषगरी भिटामिनहरू जस्तै, भिटामिन ए, बी (बी ), बी २, बी ५, बी ६, बी (२), सी, डी, ई, विभिन्न किसिमका हर्मोन र प्रोटिन फुड सप्लिमेन्टको रूपमा प्रयोग भइरहेका हुन् । , आर्थिक वर्ष ०७९र८० मा समेत पाँच लाख १७ हजार केजी फुड सप्लिमेन्ट आयात भएको छ । जसको मूल्य एक अर्ब १५ करोड र राजस्व ५६ करोड संकलन भएको थियो । आव ०७८र७९ मा सात लाख ७१ केजी फुड सप्लिमेन्ट भित्रिएको छ । ४४ करोड ९० लाख राजस्व संकलन भएको उक्त फुड सप्लिमेन्टको मूल्य एक अर्ब १२ करोड रहेको भन्सार विभागको तथ्यांकमा छ । रासस