काठमाडौं, असार ४
चीन, असार ३ । चीनको केन्द्रीय राजधानी बेइजिङमा कोरोनाभाइरसविरुद्धको लडाइँलाई फेरि सशक्त बनाउन लागेको छ । पछिल्लो समयमा अनपेक्षित रुपमा कोरोना संक्रमितहरु भेटिन थालेपछि बेइजिङमा उच्च सतर्कता अपनाउन थालिएको हो ।
उच्च सतर्कता अपनाउने क्रममा बेइजिङ्मा रहेका दुईवटा विमानस्थलबाट हुने सयौँ आन्तरिक उडान रद्द गरिएको छ । अधिकारीहरुले दिएको जानकारीअनुसार करिब १ हजार २५५ ओटा आन्तरिक उडान रद्द भएका हुन् । बेइजिङ्मा अहिलेसम्म ९० हजार जनाको कोरोना परिक्षण गरिएको र नयाँ ३१ सहित कुल १३७ जना संक्रमित भेटिएपछि सरकारी अधिकारीहरुले उच्च सतर्कता अपनाउने निर्णय गरेका हुन् । बेइजिङबाट हुने अन्तर्राष्ट्रिय उडान भने यस अघिदेखि नै बन्द हुँदै आएको थियो । त्यो अनिश्चितकालका लागि स्थगित गरिएको छ ।
त्यसैगरी राष्ट्रिय रेल मार्गबाट पनि बेइजिङभन्दा बाहिर जानका लागि बन्द गरिएको छ । टिकट काटिसकेको छ भने पनि रकम फिर्ता दिने गरिएको अधिकारीहरुको भनाइ छ । बुधबारदेखि माध्यमिक तथा प्राथमिक विद्यालयका विद्यार्थीहरुलाई अनलाइन अध्ययन अध्यापनमा जोड दिन लगाइएको छ । कलेजका शंकास्पद विद्यार्थीहरुलाई भने कलेजमै फिर्ता गरिएको छ । बेइजिङका सार्वजनिक स्थलहरुमा आवतजावत गर्न पनि कडाइ गरिएको समाचारमा जनाइएको छ । (आर्थिक दैनिकबाट)