नयाँ दिल्ली, असार ४ भारतमा २४ घण्टाभित्र कोरोनाभाइरसबाट मृत्यु भएकाहरुको संख्या एक्कासि बढेको छ । अघिल्ला दिनहरुमा मृत्यु हुनेहरुको विवरण सयको संख्यामा आउने गरेकोमा बुधबार हजारको संख्यामा आएको छ । भारतका स्वास्थ्य अधिकारीहरुले बुधबार बिहान दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा कोरोनाभाइरसका कारण मृत्यु भएकाहरुको संख्या २ हजार ३ रहेको छ । योसँगै भारतमा अहिलेसम्म कोरोनाभाइरसका कारण मृत्यु भएकाहरुको कुल संख्या ११ हजार ९ सय ३ पुगेको छ । भारतमा अहिलेसम्म कुल संक्रमितको संख्या ३ लाख ५४ हजार ६५ पुगेको अधिकारीहरुले जनाएका छन् । १ लाख ८६ हजार ३ सय ९५ जना संक्रमणमुक्त भएका छन् ।