बागलुङ । बागलुङमा ठूला राजमार्गसँग जोडिएका ग्रामीण सडक कालोपत्र भइसक्दा पनि जिल्लाका मुख्य सडक भने कालोपत्र हुन सकेका छैनन् । यहाँका तीन मुख्य सडक वर्षौँदेखि कालोपत्र हुन सकेका छैनन् । विसं २०७२ मा कालोपत्र गर्न ठेक्का सम्झौता भएको मध्यपहाडी पुष्पलाल राजमार्ग अझै धुलाम्य अवस्थामा छ । गण्डकी प्रदेश सरकार अन्तर्गतका चार सडक सम्पन्नको चरणमा छन् । एउटा सडक अझै अधुरै छ । गलकोटको हटियादेखि ताराखोला जोड्ने सडक, बागलुङ नगरपालिका–४ कुडुलेदेखि मालिका हुँदै पञ्चकोट पुग्ने सडक र ढोरपाटनदेखि म्याग्दी जोड्ने सडक निर्माण सम्पन्न भइसकेका छन् । राष्ट्रिय गौरवको आयोजनाको रूपमा रहेको मध्यपहाडी पुष्पलाल लोकमार्गअन्तर्गत बागलुङ बजारदेखि घोडाबाँधे सम्मको २५ किमि सडक पाँच पटक म्याद थप्दासमेत सम्पन्न हुन सकेको छैन ।