काठमाडौं । एनआईसी एसिया बैंकले खातामा स्थायी लेखा नम्बर अद्यावधिक गर्न आग्रह गरेको छ । बैंकका ग्राहकहरूको खाताबाट गरिएको करकट्टीको विवरण ‘आयकर ऐन २०५८’ बमोजिम नेपाल सरकार, अर्थ मन्त्रालय, आन्तरिक राजस्व विभागद्वारा जारी गरिएको स्थायी लेखा नम्बर प्रणालीमा आबद्ध गर्नुपर्ने भएकोले ग्राहकहरूले बैंकको पोर्टल वा मोबाइल बैंकिङ एपमा रहेको प्यान अपडेट विकल्पमा ट्याब गरी आफ्नो प्यान यथाशीघ्र अद्यावधिक गर्न सक्ने बैंकले जानकारी दिएको छ । सँगै ग्राहकहरूले आफूलाई पायक पर्ने एनआईसी एसिया बैंकको जुनसुकै शाखा कार्यालयबाट समेत आफ्नो खातामा प्यान अध्यावधिक गर्नको लागि आवेदन दिन सकिने बैंकको भनाइ छ ।
यसैगरी बैंकले निक्षेपकर्ताको ब्याज भुक्तानीबापत काटिएको करलाई ई टीडीएस रेकर्डमा जनाउनको लागि प्यान अत्यावश्यक रहेको छ । उक्त प्यान अद्यावधिक भएपश्चात् निजहरूको करकट्टीको विवरण सो प्यानमा प्रविष्ट गरिने हुँदा आयकरको प्रणालीले स्वचालितरूपमा अनुसूची १० मा करकट्टीको विवरण मिलान गर्ने गर्छ । जसले गर्दा ग्राहक महानुभावहरूलाई करकट्टी प्रमाणपत्र र कर चुक्ता प्रमाणपत्र प्राप्त गर्न सहज हुनुका साथै प्रमाणपत्र लिन बैंकसम्म धाउनुपर्ने अवस्थाको समेत अन्त्य गर्ने बैंकले विश्वास लिएको छ । ग्राहक महानुभावले प्यान अद्यावधिक नगराएको कारणले ई टीडीएसमा ब्याजकर दाखिला नभएको अवस्थामा र त्यस उप्रान्त ब्याज करमा थप समायोजन गर्नुपरेको अवस्थामा बैंक जिम्मेवार नहुने व्यहोरा समेत बैंक सम्पूर्ण ग्राहक जानकारी दिएको छ ।