काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र आरुष लाइफस्टाइल हस्पिटल प्रालिबीच बैंकको कार्ड तथा मोबाइल बैंकिङ प्रयोगकर्ताहरूलाई आरुष लाइफस्टाइल हस्पिटल प्रालिका विभिन्न सेवामा ३० प्रतिशतसम्म छुट प्रदान गर्ने समझदारीपत्रमा हस्ताक्षर सम्पन्न भएको छ ।
उक्त समझदारी पत्रमा बैंकका चिफ मार्केटिङ अफिसर दिलिप पोखरेल र आरुष लाइफस्टाइल हस्पिटल प्रालिका प्रमुख कार्यकारी अधिकृत डा सन्तोष शाक्यले हस्ताक्षर गरेका हुन् । समझदारीअनुसार बैंकको डेबिट र क्रेडिट कार्डवाहक तथा बैंकको मोबाइल बैंकिङ ‘ग्लोबल स्मार्ट प्लस’ प्रयोगकर्ताहरूले आरुष लाइफस्टाइल हस्पिटलमा उपलब्ध सेवामा १० देखि ३० प्रतिशतसम्म छुट प्राप्त गर्नेछन् ।
बैंकका ग्राहकहरूले आरुष लाइफस्टाइल हस्पिटलको कुपन्डोल हाइट, ठिमी चारदोबाटो (शंखधर चोक), टुसाल बौद्धनाथ मार्ग, न्युरोड पोखरा, बर्गाछि विराटनगरस्थित शाखा कार्यालयहरूबाट पनि उपलब्ध हुने सेवाहरूमा उल्लेखित छुट पाउने छन् । ग्राहकको सुविधालाई मध्यनजर गरी बैंकले विभिन्न हस्पिटल तथा सम्बन्धित संघ–संस्थाहरूसँग समन्वय गरी यस्ता किसिमका योजनाहरू ल्याएर ग्राहकहरूलाई प्रत्यक्षरूपमा लाभान्वित गर्दै आएको छ । ग्लोबल आइएमई बैंक मुलुकको सतहत्तरै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो ।
बैंकको तीन सय ५४ वटा शाखा कार्यालय, तीन सय ८४ वटा एटीएम, दुई सय ७७ शाखारहित बैंकिङ सेवा, ६८ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर तथा तीन वटा वैदेशिक प्रतिनिधि कार्यालय समेत गरी एक हजार एक सयभन्दा बढी सेवा केन्द्रबाट आफ्ना ४६ लाखभन्दा बढी ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गरी लाभान्वित गरिरहेको छ । बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अस्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, युएई, बहराइन, कुवेत, भारत, जोर्डन, हङकङलगायतका मुलुकबाट रेमिट्यान्स भित्र्याउँदै देशको अर्थ व्यवस्थामा महत्वपूर्ण योगदान पुर्याउँदै आइरहेको छ ।