काठमाडौं । नेपाल टेलिकमले माछापुच्छ्रे बेस क्याम्प (एमबीसी) र अन्नपूर्ण बेस क्याम्प (एबीसी) क्षेत्रमा फोरजी मोबाइल सेवा विस्तार गरेको छ । कास्की जिल्लाको अन्नपूर्ण पदमार्ग क्षेत्रको माछापुच्छ्रे बेस क्याम्पमा नयाँ बीटीएस जडान गरेर नेपाल टेलिकमले उक्त क्षेत्रमा फोरजी सेवा सञ्चालनमा ल्याएको हो । यसैगरी उक्त पदमार्ग क्षेत्रमा पर्ने देउरालीमा रहेको टुजी मोबाइल सेवालाई स्तरोन्नति गरी सो क्षेत्रमा पनि फोरजी सेवा सञ्चालनमा ल्याइएको कम्पनीले जनाएको छ । समृद्धि सतहबाट करिब चार हजार मिटरको उचाइमा रहेका कास्की जिल्लाका मनमोहक पर्यटकीय स्थलहरू माछापुच्छ्रे बेस क्याम्प एवं अन्नपूर्ण बेस क्याम्पमा सेवा विस्तार भएसँगै यस क्षेत्रका स्थानीय बासिन्दा, घुम्न आउने पर्यटकहरू तथा यस भेगका पर्यटनलगायत अन्य व्यवसायीहरू समेत सेवाबाट लाभान्वित हुने विश्वास कम्पनीको रहेको छ ।