काठमाडौं, नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको सारगर्भित कुरा सुनेपछि गत बिहीबार हिमालयन बैंकका अध्यक्ष प्रचण्डबहादुर श्रेष्ठ जिल्लाराम भएर फर्किएका छन् । अध्यक्ष श्रेष्ठ त्यस दिन गभर्नर अधिकारीलाई भेटर हिमालयन बैंकमा रहेको पाकिस्तानी हविव बैंकको २० प्रतिशत सेयर हिमालयन रि–इन्स्योरेन्स कम्पनीलाई बेचाउने योजना सुनाउन राष्ट्र बैंक पुगेका थिए ।
हिमालयन बैंकमा पाकिस्तानी सेयर कायम रहँदा आफूले भारतसँग सजिलै कुनै पनि कारोबार गर्न नपाएको गुनासो गरेका थिए । अध्यक्ष श्रेष्ठले राम्रोसँग आफ्नो कुरा राख्न नपाउँदै नियमन विभागका प्रमुख गुरुप्रसाद पौडेलसँगै रहेका गभर्नर अधिकारीले तपाईँ पाकिस्तानी सेयर बेचाउन आउनुभएको हो कि पाकिस्तानी सेयर आफन्तलाई दिलाउन आउनुभएको हो भनी प्रश्न गरेको स्रोतको दाबी छ । गभर्नर अधिकारीले संस्थापक समूहको सेयर फिट एन्ड टेस्ट नगरी यसरी कसैलाई सोझै बेच्न सकिँदैन भन्ने तपाईँलाई थाहा छैन भनेर हपारेका थिए । गभर्नर अधिकारीले तपाईँ बैंक तथा वित्तीय संस्था परिसंघ (सीबीफिन)को तर्फबाट आएको हो कि हिमालयन बैंकको तर्फबाट भनेर थप प्रश्न समेत गरेपछि उनी जिल्लाराम परेका थिए ।
भोलिपल्ट शुक्रबार सोही विषयमा गभर्नर अधिकारीसँग छलफल गर्न हिमालयन रि–इन्स्योरेन्स कम्पनीका सुलभ अग्रवाल राष्ट्र बैंक पुगेका थिए । उनले हिमालयन बैंकमा रहेको पाकिस्तानी सेयर किन्न बैंकका पूर्वअध्यक्ष मनोजबहादुर श्रेष्ठले प्रस्ताव गरेको र आधा–आधा लगानीमा दिन खोजेको प्रस्ताव सुनाएपछि गभर्नर अधिकारी भोलिपल्ट आफैँ जिल्लाराम परेको थाहा भएको छ ।