नयाँदिल्ली, असार ४
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारत छिमेकी मुलुक चीनसँग शान्ति चाहन्छ भन्दै सीमामा युद्ध भड्काउन खोजिए त्यसको जवाफ दिन भारत सक्षम रहेको प्रतिक्रिया दिएका छन् । लद्दाखस्थित भारत–चीन सीमावर्ती गलवान उपत्यकामा भारतीय र चिनियाँ सैनिकबीच भएको गोलाबारीमा २० जना भारतीय सैनिकको मृत्यु भएको सम्बन्धमा प्रतिक्रिया दिँदै प्रधानमन्त्री मोदीले उक्त कुरा बताएका हुन् । कोरोनाभाइरसका कारण भारतमा जारी लकडाउनमा सहजीकरण गर्ने बारेमा राज्यका मुख्यमन्त्रीहरुसँग भिडियो संवाद गर्नुअघि प्रधानमन्त्री मोदीले सीमाक्षेत्रमा भएको घटनाका बारेमा राज्यका मुख्यमन्त्रीहरुलाई जानकारी गराएका थिए ।
उनले भने, ‘हामीले मानव कल्याणका लागि प्रार्थना गरेका छौं । हामीले छिमेकी मुलुकहरुसँग सदैब मित्रवत र सहयोगात्मक ढंगबाट कार्य गरिरहेका छौं । हामीबीच कुनै मतभेद भए त्यसले विवादको रुप नलिओस् भन्ने हामीले प्रयास गरेका छौं । हामी कहिल्यै कसैलाई उक्साउने कार्य गर्दैनौं । तर हामी मुलुकको अखण्डता र सम्प्रभुतामाथि कुनै किसिमको सम्झौता गर्दैनौं । हामीले आफ्नो मुलुकको अखण्डता र सम्प्रभुताको संरक्षणमा आवश्यक परेको अवस्थामा सम्पूर्ण शक्ति लगाएका छौं ।’
प्रधानमन्त्री मोदीले भारतीय सेनाले गरेको बलिदान खेर जान नदिने बताए । उनले भने, ‘हाम्रा लागि मुलुकको एकता र अखण्डता सबैभन्दा महत्वपूर्ण छ । कसैले पनि हाम्रो मुलुकको सुरक्षा गर्नबाट रोक्न सक्दैन । भारत शान्ति चाहन्छ तर उक्साउने कार्य भएमा जस्तोसुकै जवाफ दिन सक्षम रहेको छ ।’ प्रधानमन्त्रीको सम्बोधनका क्रममा गृहमन्त्री अमित शाह र १५ वटा राज्यका मुख्यमन्त्रीहरुको उपस्थिति थियो । उक्त कार्यक्रम हुनुअघि सीमामा मारिएका सैनिकको सम्मानमा दुई मिनेट मौनधारण गरिएको थियो । लद्दाखको गलवान उपत्यकामा चिनियाँ सेनासँगको भिडन्तमा कर्णेलसहित कम्तीमा २० जना भारतीय सेनाको मृत्यु भएको थियो । उक्त भिडन्तमा चिनियाँ सेनातर्फ भएको क्षतिका बारेमा केही बताइएको छैन । (रासस–एएनआई)
संयुक्त राष्ट्रसंघको चासो : भारत र चीनबीचको सीमामा भएको हिंसाप्रति संयुक्त राष्ट्रसंघको चासो व्यक्त गरेको बताइएको छ । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटर्रेसले सो विषयमा चासो व्यक्त गरेका हुन् । भारत र चीनबीचको सीमामा भएको विवाद र सैनिक झडपमा परी २० जना भारतीय सैनिकको ज्यान गएको थियो । साथै संयुक्त राष्ट्रसंघका महासचिवले सो विषयमा वार्ताको माध्यमबाट विवादको समाधान खोज्नका लागि पनि आह्वान गरेका छन् । संयुक्त राष्ट्रसंघका महासचिव टर्रेसकोतर्फबाट सहायक प्रवक्ताद्धारा जारी गरिएको विज्ञप्तिमा भनिएको छ– भारत र चीनबीचको सो विवादमा केही सैनिक हताहत भएको समाचार पनि हामीले सुनेका छौँ, हामीले परिस्थितिलाई थप उत्तेजक नबनाइ वार्ताको माध्यमबाट समाधान खोज्न दुवै पक्षलाई आग्रह गर्दछौँ ।
भारत र चीनबीचको ग्वालन भ्यालीस्थित लदाखमा यही जुन १५ को राति भारत र चीनका सीमा सुरक्षा सैनिकबीच झडप भएको बताइएको छ । सो झडपमा परेर भारतका कम्तीमा पनि २० जना सैनिकको ज्यान गएको भारतले जनाएको छ । त्यस्तै चीनले पनि आफ्ना सैनिक मारिएको जनाएको छ । चीनका उप विदेशमन्त्री लुओ जाहोइ र चीनका लागि भारतका राजदूत विक्रम मिश्रीबीच बुधबार चीनको राजधानी बेइजिङमा भेटवार्ता भएको बताइएको छ ।