काठमार्डाैं,असार ५
नेपाल धितोपत्र बोर्डले बैंक खाता तथा डिम्याट खाता आबद्ध गरी सेयर कारोबार गर्ने व्यवस्था मिलाउन नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से)लाई निर्देशन दिएको छ । बोर्डका अनुसार धितोपत्रको दोस्रो बजार कारोबार पूर्णतया यन्त्रीकरण हुन नसकेको अवस्थामा यो प्रणालीमा सुधार गर्न आवश्यक देखिएको हुँदा बैंक खाता र डिम्याट खातालाई प्रणालीमा नै आबद्ध गरी हाललाई डिम्याट खाता र बैंक खाता आबद्ध गरी सेयर कारोबार गर्ने व्यवस्था मिलाउन बजार सञ्चालकको रुपमा रहेको नेपाल स्टक एक्स्चेन्जलाई निर्देशन दिइएको हो ।
बोर्डका अनुसार धितोपत्रको बिक्रीको भुक्तानी गर्दा अनिवार्य रुपमा आईपीएस वा विद्युतीय माध्यममार्फत गर्नुपर्ने र धितोपत्र खरिद गर्दा आईपीएस वा विद्युतीय माध्यममार्फत गर्न प्रोत्साहित गर्ने तर २०७७ साउन १ गतेदेखि अनिवार्य रुपमा विद्युतीय माध्यमबाट मात्र रकम प्राप्त गर्ने र भुक्तानी दिने व्यवस्था गरी सो बमोजिम ब्रोकरले खाता अद्यावधिक गर्ने गराउने व्यवस्था मिलाउनुुपर्नेछ ।
नेप्से अनलाइन कारोबार प्रणालीले लगानीकर्ताहरुको बैंक खाता तथा डिम्याट खाता आबद्ध गरी स्वचालित कारोबार तथा राफसाफ कार्य गर्न नसकेको गुनासाहरु आइरहेको सन्दर्भमा लगानीकर्ताहरुले गरेको कारोबार स्वचालित रुपमा बैंक खातामा रकम तथा डिम्याट खातामा सेयर जम्मा÷खर्च हुने व्यवस्था गर्नुका साथै स्वचालित रुपमा नै कारोबार भएको दिन बैंक खाताबाट रकम प्राप्त गरी विभिन्न निकायहरुको कमिसन, कर, मूल्य सम्बन्धित निकायको खातामा सोही दिन स्वचालित रुपमा नै जम्मा हुनसक्ने व्यवस्था मिलाउन समेत बोर्डले निर्देशन दिएको छ ।