काठमाडौं । नेपालको लागि हुन्डाई गाडीको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले आफ्नो भगिनी संस्था लक्ष्मी मोटर कर्पोरेसनबाट नेपालमा बनेको भेन्युको मूल्य सार्वजनिक गर्दै बिक्री वितरण सुरु गरेको छ । नेपालमा नै हुन्डाई भेन्युको व्यावसायिक उत्पादन गरिएको कुरालाई ध्यानमा राखी कम्पनीले ‘हुण्डाई नेपाल : मेड फर योर जोर्नी’ नामक ग्राहकमुखी योजना ल्याएको छ ।
यस योजनामा हुन्डाई भेन्यु खरिद गर्दा छ दशमलव ९९ प्रतिशत फाइनान्सिङको व्यवस्था, १० वर्षको निःशुल्क सर्भिसिङ र तीन वर्षको वारेन्टी रहने कम्पनीले जनाएको छ । लक्ष्मी मोटर कर्पोरेसन, नेपालमा लक्ष्मी ग्रुपको लगानी तथा हुन्डाई मोटर कम्पनीसँगको प्राविधिक सहकार्यमा स्थापना भएको हो । लक्ष्मी मोटर कर्पोरेसनले पहिलो पटक नेपालमा भेन्यु मोडल उत्पादन सुरु गरेको र यसको बनावट, गुणस्तर, पर्फमेन्सलगायतका गुणहरू हुन्डाई मोटसर्् कम्पनी कोरिया÷भारतमा बन्ने सोही मोडलका गाडीहरू सरहकै हुने कम्पनीले दाबी गरेको छ ।
स्वदेशमा नै उत्पादन गरी देशको औद्योगीकरण, आयात प्रतिस्थापन, रोजगारी सिर्जना, आन्तरिक राजस्वमा वृद्धि, सिप तथा प्रविधि विकास, सहायक उद्योगको स्थापना, आन्तरिक स्रोत तथा विद्युत्को खपत, कुल गार्हस्थ उत्पादनमा योगदानका साथसाथै उपभोक्तालाई सहुलियत मूल्यमा सवारी साधन उपलब्ध गराउने उद्देश्य रहेको कम्पनीले जानकारी गराएको छ ।
हाल बिक्री वितरण सुरु भएको मेड इन नेपाल हुन्डाई भेन्युको १.२ (एस) को मूल्य ४४ लाख ९६ हजार र भेन्यू १.२ (एसएक्स)को मूल्य ५३ लाख ५६ हजार रुपैयाँ कायम गरिएको कम्पनीले जनाएको छ ।