काठमाडौँ । नेपालले सातौँ एसिया कप खुला अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा पाँच स्वर्ण, एक रजत र एक कास्यसहित सात पदक जितेको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले भारतको गोवामा सम्पन्न प्रतियोगितामा सात खेलाडी सहभागी भएकामा सबैले पदक जितेको जनाएको छ ।
ग्योरोगीमा ६ र पुम्सेमा एक गरी नेपाली टोलीले सात पदक जितेको हो । स्वर्ण हात पार्ने पुरुष सिनियर ८० केजीमुनि रन्जित डंगौरा, ६८ केजीमुनि कुमार लवत र ५८ केजीमुनि प्रवीणजङ्ग खड्काले स्वर्ण जितेका हुन् । साथै पुरुष जुनियरको २३ केजीमुनि संयोग खड्का तथा क्याडेट महिलाको ३३ केजीमुनि सुसन्ध्या खड्काले स्वर्ण हात पारेका हुन् ।
जुनियर पुरुष ३२ केजीमुनि रघुनाथ भण्डारीले रजत तथा यु–१२ एकल पुम्सेमा आभास देवले कास्य प्राप्त गरे । नेपाली टोलीको प्रशिक्षकमा दीपेश जोशी र टोली व्यवस्थापकमा सरिता थापा रहेका छन् ।