वाणिज्य बैंक र फाइनान्स कम्पनीहरूले विपन्न वर्ग क्षेत्रमा प्रवाह गरेको कर्जा करिब स्थिर छ तर विकास बैंकहरूले अघोषितरूपमा यस्तो कर्जा घटाएका छन् । राष्ट्र बैंकको निर्देशनअनुसार बैंक तथा वित्तीय संस्थाहरूले आफ्नो कुल कर्जाको पाँच प्रतिशत विपन्न वर्गमा प्रवाह गर्नुपर्छ । बैंक तथा वित्तीय संस्थाले विपन्न वर्गमा जाने कर्जामध्ये ठूलो रकम लघुवित्त वित्तीय संस्थामार्फत प्रवाह गर्दै आएका छन् । तथ्यांकअनुसार विपन्न वर्गमा प्रवाह भएको कर्जामध्ये २५ प्रतिशत आफैँ र बाँकी ७५ प्रतिशत लघुवित्त वित्तीय संस्थामार्फत प्रवाह गर्नेगरेका छ ।पछिल्लो समय लघुवित्त वित्तीयि संस्थाविरुद्ध चरणबद्ध आन्दोलन र हुन थालेपछि लघुवित्त क्षेत्रको निष्क्रिय कर्जा उच्च दरमा बढेको छ । यही कारण अहिले बैंकहरूले लघुवित्तमार्फत कर्जा प्रवाह कम गर्दै लगेको देखिन्छ । तथ्यांकअनुसार वाणिज्य बैंकहरू र फाइनान्स कम्पनीले लघुवित्तमार्फत जाने कर्जा प्रवाह नबढाए पनि घटाएका छैनन् तर विकास बैंकहरूले घटाएका छन् ।
राष्ट्र बैंकका अनुुसार चालू आर्थिक वर्षको १० महिनामा विकास बैंकहरूले प्रवाह गरेको कुल कर्जा चार खर्ब ९६ अर्ब ५४ करोड रुपैयाँ कर्जामध्ये विपन्न वर्गमा आठ दशमलव ६३ प्रतिशत अर्थात् ३० अर्ब २९ करोड ५० लाख रुपैयाँ कर्जा प्रवाह गरेका छन् । यो कर्जा एक वर्षअघिको तुलनामा तीन दशमलव ४८ प्रतिशत अर्थात् दुई अर्ब २९ करोड ६० लाख रुपैयाँले कम हो । गत आर्थिक वर्षको १० महिनामा विकास बैंकहरूले कुल चार खर्ब ६२ अर्ब नौ करोड रुपैयाँ कर्जा प्रवाह गरेको थिए । यसमध्ये लघुवित्तमार्फत १२ दशमलव ११ प्रतिशत अर्थात् ४२ अर्ब ५९ करोड १० लाख रुपैयाँ कर्जा विपन्न वर्गमा प्रवाह गरेका थिए ।
वाणिज्य बैंकहरूले गत वैशाख मसान्तसम्म ४५ खर्ब ११ अर्ब रुपैयाँ कर्जा गरेका छन् । यसममध्ये छ दशमलव ६३ प्रतिशतले हुने दुई खर्ब ६४ अर्ब २५ करोड ४० लाख रुपैयाँ कर्जा विपन्न वर्गमा प्रवाह गरेको छ । यो कर्जा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा शून्य दशमलव ३१ प्रतिशत अर्थात् एक अर्ब ७४ करोड ६० लाख रुपैयाँले बढी हो । गत आर्थिक वर्षको सोही अवधिमा वाणिज्य बैंकहरूले कुल ४३ खर्ब २० अर्ब रुपैयाँ कर्जा प्रवाह गर्दा छ दशमलव ४३ प्रतिशतका दरले हुन आउने दुई खर्ब ६२ अर्ब ५० करोड रुपैयाँ कर्जा विपन्न वर्गमा प्रवाह गरेका थिए ।
फाइनान्स कम्पनीहरूले गत वैशाख मसान्तसम्म विपन्न वर्गमा छ अर्ब ६१ रुपैयाँ कर्जा प्रवाह गरेका छन् । जुन कुल कर्जा ९८ अर्ब ६५ करोड रुपैयाँ कर्जाको सात दशमालव ११ प्रतिशत हो । फाइनान्स कम्पनीहरूले विपन्न वर्गमा प्रवाह गरेको कर्जा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा शून्य दशमलव ४१ प्रतिशत अर्थात् एक अर्ब रुपैयाँले बढी हो । एक वर्षअघि फाइनान्स कम्पनीहरूले कुल ९२ अर्ब ६० करोड रुपैयाँ कर्जा प्रवाह गर्दा सात दशमलव ५२ प्रतिशतका दरले पाँच अर्ब ६१ करोड रुपैयाँ कर्जा विपन्न वर्गमा प्रवाह गरेका थिए । वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीसहितका सबै संस्थाहरूले विपन्न वर्ग क्षेत्रमा प्रवाह गरेको कुल कर्जा रकम भने चालू आर्थिक वर्षको पछिल्लो १० महिनामा तीन खर्ब ११ अर्ब रुपैयाँ छ । यो कर्जा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ४५ करोड रुपैयाँले बढी हो । गत आर्थिक वर्षको सोही अवधिमा बैंक तथा फाइनान्स कम्पनीहरूले विपन्न वर्ग क्षेत्रमा प्रवाह गरेको कुल कर्जा रकम तीन खर्ब १० अर्ब ७० करोड रुपैयाँ थियो ।