डुम्रे (तनहुँ) । भण्डारणमा पर्याप्त मौज्दात रासायनिक मल भएपछि बर्सेनि रासायनिक मल अभाव व्यहोरेका तनहुँका किसानलाई धान तथा मकैखेतीका लागि समस्या नहुने भएको छ ।
कृषि सामग्री कम्पनी लिमिटेड शाखा कार्यालय दमौलीले जिल्लामा आवश्यक रासायनिक मल आयात भइरहेको र मल आउने क्रम जारी रहेकाले अभाव नहुने जनाएको छ । कम्पनीले बजार मागअनुसार मल ल्याउन नसक्दा विगत वर्षमा किसानले मल अभाव झेल्नुपरेको प्रमुख दिनेश शर्माले जानकारी दिए ।
रासायनिक मलको सबैभन्दा धेरै माग असारमा हुने र मागअनुसारको आइरहेको र आउने क्रम जारी रहेकाले अभाव नहुने प्रमुख शर्माले बताए । उनका अनुसार जिल्लामा माग भएअनुरुप नै आयात भइरहेको र मौज्दात रहेको मल वितरण भइरहेको छ ।
मङ्गलबार भएको कृषि ज्ञान केन्द्र र कृषि सामग्री कम्पनीसँगको छलफलपछि सहमतिमा असार १५ गतेदेखि युरिया र डिएपी मल एकसाथ वितरण गरिने उनले बताए । उनले कम्पनीसँग रहेको मौज्दातले माग धानेकाले अभाव नहुने पनि बताए ।
तनहुँ र लमजुङ जिल्लाका किसानका लागि कृषि सामग्री कम्पनी लिमिटेडले पालिकाले तोकेका कृषि सहकारी संस्थामार्फत मल वितरण गर्दै आएको छ । तनहुँलाई एक सय ५० टन युरिया र दुई सय टन डिएपी र लमजुङका लागि एक सय टन युरिया र एक सय टन डिएपी वितरण हुने शर्माले बताए ।
प्रमुख शर्माका अनुसार तनहुँका लागि युरिया एक हजार एक सय ४०, डिएपी दुई सय ९५ टन र पोटास ३६ टन माग छ । लमजुङको लागि युरिया पाँच सय टन, डिएपी एक सय आठ टन र पोटास १७ टन माग छ । युरिया एक हजार छ सय ५० टन, डीएपी चार सय तीन टन, पोटास ५३ टन र चुना तीन टन आयात भएको छ भने थप मल आउने क्रममा रहेको शर्माले बताए ।
प्रमुख शर्माले गण्डकी प्रदेश सरकारले कोटा निर्धारण गरिसकेको र असार १५ देखि रोपाइँ धमाधम हुने भएकाले वितरणलाई पनि प्रभावकारी तवरबाट गरिने बताए । गत वर्ष चार प्रकारका मल गरी एक हजार चार सय १८ टन मात्रै मल आएकाले अभाव भएको थियो । तनहुँमा ९५ र लमजुङमा ५२ गरी एक सय ४७ वितरण केन्द्र छन् ।
गत वर्षभन्दा यस वर्ष धेरै मल आयात गरिएकाले अभावको समस्या नआउने शर्माको विश्वास छ । कृषि ज्ञान केन्द्रले आवश्यकतानुसार पालिकालाई कोटा निर्धारण गर्ने र पालिकाले सोहीअनुसार केन्द्रको कोटा निर्धारण गरी पत्र पठाएपछि मल प्रदान गरिने शर्माले बताए ।