सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकमा धेरै बेथिति रहेको पाइएको छ । महालेखापरीक्षकको ६१औँ वार्षिक प्रतिवेदन २०८१ले कर्जा प्रवाहका क्रममा बैंकभित्र धेरै नै बेथिति र नियमविपरीत कार्य भएको औँल्याएको छ । बैंकले नेपाल राष्ट्र बैंकको एकीकृत निर्देशिका २०७९÷८० को बुँदा नम्बर २३ (७) (२) र नेपाल राष्ट्र बैंकको कर्जा अपलेखन नीतिको पालना नगरेको प्रतिवेदनमा उल्लेख छ । बैंकले १५ करोड छ लाख २४ हजार ऋणबापतको धितो सकार गरी गैरबैंकिङ सम्पत्तिमा लेखाङ्कन गर्नुपर्नेमा सोअनुसार नगरेको महालेखाको भनाइ छ । सम्पत्ति सकार गरी स्वामित्वमा नल्याएको कारण गैरबैंकिङ सम्पत्तिको प्रभावकारी परिचालन हुने स्थिति नदेखिएको प्रतिवेदनमा उल्लेख छ । बैंक तथा वित्तीय संस्थाले कुनै पनि कम्पनीमा सो कम्पनीको चुक्ता पुँजीको अधिकतम १० प्रतिशतसम्म लगानी गर्नसक्ने प्रावधान छ । तर, राष्ट्रिय वाणिज्य बैंकले बुटवल धागो कारखानामा २० प्रतिशत, एक खाद्य उद्योगमा ५७ प्रतिशत, एक डिजिटल भुक्तानी कम्पनीमा ३७ दशमलव ७८ प्रतिशत र एक सिमेन्ट उद्योगमा ८० दशमलव ९० प्रतिशत कर्जा लगानी गरेको देखिएको छ । बैंकले लगानी गरेको एक खाद्य कम्पनी आफ्नै सहायक कम्पनी भए पनि उक्त कम्पनी लामो समयदेखि सञ्चालनमा नरहेको र लगानी समेत पूरै क्षयीकरण भएको छ । यी सबै विवरणलाई बैंकले लुकाउँदै आएको छ ।
एकीकृत वित्तीय विवरणमा उक्त कम्पनीको वित्तीय विवरणलाई समावेश गरेको छैन । लगानीको लागि जोखिमयुक्त ग्राहकको पहिचान, वर्गीकरण र अनुगमन गर्नुपर्नेमा बैंकले उक्त निर्देशिकाको पालना नगरेकोले प्रतिफलयुक्त एवं जोखिम न्यून भएका क्षेत्रमा लगानी गर्नुपर्ने बेहोरा गतवर्षको प्रतिवेदनमा समेत औँल्याइएकोमा सुधार नभएको महालेखाले उल्लेख गरेको छ ।बैंकले जोखिम व्यवस्थापन गरी कार्यसञ्चालन गर्न एक समिति गठन गरेको छ । ऋण, बजार, सञ्चालन जोखिमको समीक्षा र व्यवस्थापन गर्न विभिन्न नीति, कार्यविधि, प्रणाली र तालिम सञ्चालनमा ल्याए पनि तनाव व्यवस्थापन र तरलताजस्ता प्रतिवेदनको मानक र नियमित प्रकृतिको कार्यमा मात्र गठित समितिले काम गरेको छ । गठित समिति मातहतको जोखिम व्यवस्थापन विभागले सात करोडभन्दा बढीको कर्जा ग्राहकहरूको जोखिम व्यवस्थापन गर्दै आएकोमा उक्त सीमाभन्दा कम कर्जा सुविधा लिने ग्राहकहरूको समेत मूल्याङ्कन हुनुपर्ने महालेखाले भनेको छ । जोखिम व्यवस्थापन समितिले जोखिम व्यवस्थापन कार्य र रणनीतिमा लेखापरीक्षण प्रतिवेदन (आन्तरिक, बाह्य वा नियामक निरीक्षण)लाई ध्यानमा राखी जोखिम समीक्षा नगरेको, बैंकको सञ्चालक समितिको वार्षिक बैठकमा जोखिम व्यवस्थापन र व्यावसायिक रणनीतिलाई आवश्यकताअनुसार महत्व नदिएको र बैंकको बैंकिङ कार्यसम्पादनसँग सम्बन्धित सबै कार्यक्षेत्र समेट्ने गरी एकीकृत सञ्चालन कार्यविधि तय गरी कार्य सञ्चालन नगरेकोले उक्त विषयहरू समेटी जोखिम व्यवस्थापन नीति र कार्यविधि अद्यावधिक गरी कार्यसम्पादनमा प्रभावकारिता ल्याउनुर्नेमा महालेखाले जोड दिएको छ ।
बैंकको स्थिर सम्पत्तिको हालको मूल्य चार अर्ब २३ करोड ७६ लाख रहेकोमा प्रधान कार्यालय रहेको जग्गा र लहानस्थित जग्गाको लालपुर्जा अझैसम्म पनि बैंकको नाममा छैन । पोखरामा अवस्थित जग्गामध्ये साबिक एनआईडीसी विकास बैंकको नाममा रहेको एक कित्ता जग्गा नगर विकास कोषको अनुरोधमा रोक्का गरिएको हुँदा बैंकले सो रोक्का फुकुवाको लागि प्रभावकारी पहल गर्नुपर्ने महालेखाको भनाइ छ । बैंकले २०७९÷८० मा स्थिर सम्पत्तिमध्ये जग्गाको लेखा नीति परिवर्तन गरी ऐतिहासिक मूल्यको सट्टा पुनर्मूल्याङ्कन विधिबमोजिम प्रचलित उचित मूल्यमा लेखाङ्कन गर्न सुरु गरेको छ । यसरी लेखाङ्कन गर्दा १८ करोड ८८ लाख लागत मूल्य रहेको जग्गाहरूको पुनर्मूल्याङ्कित मूल्य २६ अर्ब ८९ करोड ५६ लाख कायम भएको छ । यसबाट बैंकलाई कुल २६ अर्ब ७० करोड ७१ लाख पुनर्मूल्याङ्कन नाफा भएकोमा सोको स्थगन कर समायोजन गर्दा १८ अर्ब ६९ करोड ५० लाख पुनर्मूल्याङ्कन जगेडा सिर्जना भई सोहीबमोजिम सेयरधनी कोषमा वृद्धि भएको छ । बैंकको भरतपुर, धनगढी, सुर्खेत, पोखरालगायतका स्थानमा रहेका जग्गाको उपयोगको लागि व्यावसायिक योजना बनाई कार्यान्वयन गर्नुपर्ने महालेखाले भनेको छ ।सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकमा केही महिनाअघि मात्र प्रमुख कार्यकारी अधिकृत फेरिएका छन् । फेरिनुअघि बैंकको प्रमुख कार्यकारी अधिकृत पदमा किरणकुमार श्रेष्ठ थिए । उनले दुई कार्यकाल बैंकमा प्रमुख कार्यकारीको पद सम्हालेका थिए । सोही कारण राष्ट्रिय वाणिज्य बैंकको हकमा महालेखाले औँल्याएका धेरैजसो कैफियत र बेथितिमा तत्कालीन प्रमुख कार्यकारी अधिकृत श्रेष्ठकै हात धेरै देखिएको छ ।