रामेछाप (मन्थली) रामेछाप नगरपालिका–७ सुकाजोरका वडाअध्यक्ष समिर कार्कीले आफूले पाउने सुविधाबाट वर्षायाम सुरु भएसँगै पाखोबारीको मकै तथा बैँसी क्षेत्रमा धानखेती गर्ने किसानलाई निःशुल्क रासायनिक मल वितरण गरेका छन् ।
वडाध्यक्ष कार्कीले गत वर्ष पनि आफूले पाउने सेवा सुविधाबाट किसानलाई रासायनिक मल वितरण गरेका थिए । “वडामा पर्याप्त मल आउँदैन, न्यून मात्रामा आएको मललाई सामानुपातिकरुपमा वितरण गर्न कठिनाइ हुन्छ, त्यसैले आफूले पाउने सुविधाबाटै किसानलाई निःशुल्क मल वितरण गरेको हुँ”, उनले भने ।
अध्यक्ष कार्कीले वडाले १० रोपनीभन्दा बढी जग्गामा खेती गरिरहेका किसानलाई एक बोरा तथा सो भन्दा कम जग्गामा खेती गरिरहेका किसानलाई आवश्यकताका आधारमा मल वितरण गर्ने नीति बनाएको जानकारी दिए । यसवर्ष नौ सय परिवारलाई सात सय २० बोरा मल वितरण गरिएको हो ।