काठमाडौं । चिनियाँ नागरिकसँग बिहे गराईदिने बहनामा नेपालबाट चीनमा मानव तस्करी हुने गरेको पाईएको छ । नेपाल प्रहरीले चिनियाँ नागरिकसँग बिहे गराइदिने प्रलोभनमा पारेर चीन लगेर एक महिलालाई बेच्ने महिलालाई पक्राउ गरेको छ ।
प्रहरीको मानव बेचविखन अनुसन्धान ब्युरोले चीनमा महिला बिक्री गरेको आरोपमा उदयपुर त्रियुगा नगरपालिका–१ जोगीदहकी ३१ वर्षीया सुन्दरी राईलाई पक्राउ गरी सार्वजनिक गरेको हो । ब्युरोका सूचना अधिकारी प्रहरी उपरीक्षक गौतम मिश्रले गत फागुनमा पीडित महिलालाई चिनियाँ नागरिकले बिहे गरेर भिजिट भिसामा चीन लगेर बन्धक बनाएको खुल्न आएको जानकारी दिए । पक्राउ परेकी राईले फेसबुक म्यासेन्जरबाट पीडित महिलालाई कुराकानी गरी चिनियाँसँग भेट्न ठमेल बोलाएर बिहे गर्न लगाएको अनुसन्धानका क्रममा पत्ता लागेको उनले बताए । राईले पीडित महिलालाई आफूले पनि चिनियाँ नागरिकसँग बिहे गरेको १० वर्ष भएको बताएकी थिइन् । ‘चीनमा धेरै राम्रो हुन्छ, तिमी पनि विवाह गरेर चीनमा आऊ, विवाह गर्ने केटासँग मेरो चिनजान रहेको छ, केटा धनी र राम्रो छ’ भनी प्रलोभन देखाई पीडितलाई काठमाडौंको ठमेलमा चिनियाँ केटासँग भेटाएको पाइएको प्रहरीले जनाएको छ । पीडित महिलालाई चिनियाँ नागरिकले राईसँग एक लाख ५० हजार रुपैयाँमा खरिद गरेको पाइएको प्रहरीले बताएको छ ।
प्रहरीका अनुसार चिनियाँले पीडित महिलालाई घरमै बन्धक बनाएर शारीरिक तथा मानिस यातना दिई यौनशोषण गर्ने गरेका थिए । पीडित महिलालाई चीनस्थित नेपाली राजदूतावासले यही असार ९ गते उद्धार गरी नेपाल ल्याइएको थियो ।