काठमाडौं । सिटिजन्स क्यापिटल लिमिटेडमा अध्यक्ष तथा सञ्चालक नियुक्त भएका छन् । सिटिजन्स क्यापिटलको मुख्य कम्पनी सिटिजन्स बैंक इन्टरनेसनलको तर्फबाट मनोनित भई यस संस्थाको अध्यक्ष रहेका पारसकुमार काफ्लेको असामायिक निधन भई रिक्त रहन गएको अध्यक्ष पदमा यही असार १३ गते बसेको संस्थाको एक सय २५ औँ सञ्चालक समितिको बैठकले यस संस्थाको सञ्चालक सदस्य रहेका राजेन्द्रलाल श्रेष्ठलाई अध्यक्षमा नियुक्ति गरेको छ ।
साथै, उक्त बैठकले रिक्त रहन आएको सञ्चालक एक पदका लागि मुख्य कम्पनी सिटिजन्स बैंक इन्टरनेसनलको तर्फबाट मनोनित भई आएका नारायण राज अधिकारीलाई सञ्चालक पदमा नियुक्ति गरेको छ । उक्त बैठकमा सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडतर्फबाट अन्य सञ्चालक प्रमेश राज कायस्थ, कर्मचारी सञ्चय कोषतर्फबाट सुभाष खड्का, स्वतन्त्र सञ्चालकहरू अभिजित मुल, श्रीमती ज्योत्सना बोहोरा पाण्डेका साथै संस्थाका प्रमुख कार्यकारी अधिकृत सबिर बादे श्रेष्ठ तथा कम्पनी सचिव रमेश लुईंटेलको उपस्थिति रहेको थियो ।
नेपाल धितोपत्र बोर्डबाट सामूहिक लगानी कोषको प्रवद्र्धन, धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक, लगानी व्यवस्थापन (पोर्टफोलियो म्यानेजमेन्ट), धितोपत्र प्रत्याभूतिकर्ता (अन्डर राइटर), सेयर रजिस्ट्रार तथा डि–म्याट खाताजस्ता लगानीकर्ताहरूसँग प्रत्यक्ष सरोकारका कामहरू गर्न अनुमति प्राप्त भएको सिटिजन्स क्यापिटल लिमिटेड सिटिजन्स बैंकको सहायक कम्पनी रहेको र यो कम्पनीमा कर्मचारी सञ्चय कोष तथा प्रतिष्ठित उद्योगी व्यवसायीहरूको सह–लगानी रहेको छ । काठमाडौं डिल्लीबजारस्थित बाटुलेघरमा संस्थाको रजिस्ट्रर कार्यालय रहेको छ ।
काठमाडौंबाहिरका लगानीकर्ताहरूले पुँजीबजारमा प्रत्यक्षरूपमा सहभागी भई लगानी गर्न समस्या रहेको हालको परिस्थितिमा संस्थाले लगानी व्यवस्थापक (पोर्टफोलियो म्यानेजर)को सेवा सिटिजन्स बैंकका देशभरका सम्पूर्ण शाखा कार्यालयहरूबाट प्रदान गरी इच्छुक लगानीकर्ताहरूलाई संस्थाको विज्ञ तथा अनुभवी व्यवस्थापन समूहबाट सेवा प्रदान गर्दै आएको छ ।