काठमाडौं,नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति प्रक्रिया रद्द भएपछि यसको विरुद्धमा रिट दायर भएको छ । बोर्डको भावी अध्यक्षको लागि आवेदन दिएर ‘सर्टलिस्ट’मा समेत छानिएका सन्तोषनारायण श्रेष्ठले अन्तिम समयमा अध्यक्ष नियुक्ति प्रक्रिया रद्द भएपछि उक्त निर्णय नियमविपरीत भएको भन्दै सोमबार सर्वोच्च अदालतमा रिट दायर गरेका हुन् । श्रेष्ठले रिटमार्फत धितोपत्रसम्बन्धी ऐन २०६३ बमोजिम अहिलेकै प्रक्रिया अगाडि बढाउनुपर्ने माग गरेका छन् ।
बोर्डको अध्यक्ष पदका लागि १९ जनाले आवेदन दिएका थिए । त्यसमध्ये राष्ट्रिय योजना आयोगका उपाध्यक्ष मिनबहादुर श्रेष्ठ रहेको धितोपत्र बोर्डको अध्यक्ष सिफारिस समितिले पाँच जनाको नाम सर्टलिस्ट गरेको थियो । ती पाँच जनामा सन्तोषनाराण श्रेष्ठ, बोर्डका कार्यकारी निर्देशक मुक्तिनाथ श्रेष्ठ, नेप्सेका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर कार्की, बोर्डकै निर्देशक डा. नवराज अधिकारी र नेपाल बीमा प्राधिरणका पूर्वअध्यक्ष चिरञ्जीवी चापागाईँ सर्टलिस्टमा परेका थिए । तर, पछिल्लो समय सेबोनको अध्यक्ष नियुक्ति प्रक्रिया पेचिलो बन्दा प्रक्रिया नै रद्द हुनपुगेको थियो ।