काठमाडौँ, असार ७
एसियन लाइफ इन्स्योरेन्स कम्पनीले अनलाइनबाटै जीवन बीमालेख बिक्री गर्ने योजना ल्याएको छ । कम्पनीले कोभिड–१९ का कारण अनलाइन माध्यमको बढ्दो प्रयोग र आवश्यकतालाई मध्यनजर गर्दै अनलाइनमार्फत नै बीमालेखको लागि आवेदन गर्न सकिने सुविधा ल्याएको हो । योसँगै अभिकर्ताले कम्पनीको आधिकारिक वेबसाइटमा एजेण्ट पोर्टलमार्फत आवेदन दर्ता गर्न सक्नेछन् ।
इजाजतप्राप्त अभिकर्ताले यस कम्पनीको आधिकारिक वेबसाइटमा एजेण्ट पार्टेलमा लगइन गरिसकेपछि बीमा चाहने व्यक्तिको बारेमा सम्पूर्ण विवरण र कागजपत्र प्रविष्टी गरेर अनलाइन आवेदन गर्नसक्ने कम्पनीले जानकारी गराएको छ ।
बीमा समितिको निर्देशानुसार हाललाई अधिकतम तीन लाख रूपैयाँ बीमाङ्कसम्मको बीमालेखको लागि आवेदन दिन सकिनेछ । साथै, कम्पनीका बीमितले ई–सेवा र फोन–पेमार्फत घरमै बसेर नवीकरण बीमाशुल्क भुक्तानी गर्न सकिने छ । साथै, अनलाइन लगइनबाट अभिकर्ताले कारोबार विवरण तथा बीमितले आफ्नो बीमालेखसम्बन्धी सम्पूर्ण विवरण आफैँले हेर्न मिल्नेछ ।
हाल चुक्ता पुँजी दुुई अर्ब एक करोड सात लाख ६० हजार रूपैयाँ रहेको कम्पनीले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा १३ करोड सात लाख २२ हजार रूपैयाँ खुद मुनाफा कमाएको छ । गत आवको सोही अवधिमा भने बैंकले पाँच करोड ४४ लाख नौ हजार रूपैयाँ खुद मुनाफा आर्जन गरेको थियो ।