काठमाडौं । डिजिटल बैंकिङलाई आत्मसात गर्दै लाखौं ग्राहकहरूमा गतिशील बैंकिङको अभ्यास गर्दै आइरहेको एनआईसी एसिया बैंकले भुक्तानी प्रणालीलाई थप सशक्त बनाउने उद्देश्यका साथ मास्टर कार्ड इस्योयन्स सेवा शुभारम्भ गरेको छ । आइतबार पोखरामा आयोजित कार्यक्रममा उक्त कार्ड सेवाको शुभारम्भ गरिएको हो ।
डेबिट कार्डको रूपमा प्रयोग गर्न सकिने मास्टरकार्ड बैंकका सम्पूर्ण शाखा कार्यालयहरूबाट ग्राहकहरूले प्राप्त गर्न सक्नेछन् । जसमा अत्याधुनिक सुरक्षा प्रविधि तथा अत्याधुनिक कन्ट्याक्टलेस प्रविधि समेत प्रयोग गरिएको छ । यस कार्डमार्फत ग्राहकहरूले नेपाल, भारत र भुटानबाट एटीएम विथड्रलको साथमा पोस तथा इ–कमर्स भुक्तानी लगायतको सुविधा उपभोग गर्न सकिने बैंकले जानकारी दिएको छ । ‘डिजिटल फस्ट’ बैंकको रूपमा आफूलाई स्थापित गर्न लागिरहेको बैंक र विश्वविख्यात मास्टर कार्डबीचको यो सहकार्यले नेपालको बैंकिङ क्षेत्रलाई थप उचाइमा पुर्याउन ठोस योगदान दिने बैंकले विश्वास लिएको छ । कार्ड बैंकिङ सेवा प्रदायकको रूपमा मुलुकका अग्रणी वाणिज्य बैंकको रूपमा रहेको एनआईसी एसिया बैंकले हालसम्म भिसा कार्डबाट सेवा प्रदान गरिरहेको थियो ।
बैंकले मुलुकभर तीन सय ६० वटा शाखा कार्यालयहरू, छ सय ७० वटा एटीएम, एक सय १८ वटा विस्तारित काउन्टर एवं ५१ वटा शाखारहित शाखा सञ्जाल विस्तार गरेको छ । देशको कुल जनसंख्यामध्ये २० वर्षदेखि ५० वर्ष उमेर समूहसम्मको आर्थिकरूपमा सक्रिय जनसंख्याको करिब २५ प्रतिशत जनतालाई सेवा दिन यस बैंक सफल भएको छ । देशको अर्थतन्त्रको सवलीकरण तथा उच्च आर्थिक वृद्धिमा टेवा पुर्याउन उत्तरदायी बैंकिङको अभ्यास गर्दै स्थापनाकालदेखि हालसम्ममा प्रत्यक्ष र अप्रत्यक्ष गरी कुल २३ अर्ब सात करोडभन्दा बढी राजस्व नेपाल सरकारलाई भुक्तानी गरेको र गत आर्थिक वर्षमा तीन अर्ब ६१ करोडभन्दा बढी राजस्व नेपाल सरकारलाई बुझाउन बैंक सफल भएको छ । वित्तीय समावेशीकरणका लागि मुगु, कालिकोट, बझाङ, रूकुम, जुम्ला, सल्यानजस्ता बैंक तथा वित्तीय संस्थाहरूको उपस्थिति न्यून रहेका दुर्गम जिल्लाहरूमा तथा कुनै पनि बैंक तथा वित्तीय संस्थाहरू नपुगेको ३४ भन्दा बढी स्थानीय निकायहरूमा शाखा विस्तार गरी सञ्चालन गर्दै आइरहेको छ । देशको कुल जनसंख्याको ८० प्रतिशतभन्दा बढी बसोबास गर्ने ग्रामीण तथा साना सहरी क्षेत्रमा बैंकले आफ्ना ७२ प्रतिशत शाखा कार्यालयहरू स्थापना गरेको छ ।