काठमाडौँ, असार ७
बेष्ट फाइनान्सले कनेक्ट आईपीएस सेवा सुुरु गरेको छ । फाइनान्सले विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट हुनसक्ने जोखिमलाई मध्यनजर गरी डिजिटल कारोबारलाई प्रोत्साहन गर्ने उद्देश्यका साथ यो सेवा सुरु गरेको फाइनान्सले जानकारी दिएको छ । फाइनान्सले आफ्ना ग्राहकहरूलाई सुरक्षित भई घर र अफिसबाटै इन्टरनेट तथा मोबाइललगायतका विद्युतीय माध्यमबाट बैकिङ कारोेबार तथा विभिन्न भुक्तानी गर्न सहज होस् भनी यो सेवा सुरुवात गरेको जनाएको छ ।
ग्राहकहरूले यो सेवा लिन नेपाल क्लियरिङ हाउस लिमिटेडको वेबसाइटमा तोकिएबमोजिमको फारम भरी, दर्ता गरेर सोको प्रतिसहित फाइनान्सको पायक गर्ने शाखामा सम्पर्क गरी सुविधा उपयोग गर्न सक्नेछन् । यो सेवामार्फत सरकारी महसुल एक बैंकबाट अर्को बैंकमा रकम स्थानान्तरण, क्रेडिट कार्ड बिल भुक्तानी, मोबाइल रिचार्ज, सेयर कारोबारको भुक्तानीलगायत अन्य विभिन्न सुविधा उपभोग गर्न सकिने फाइनान्सले जनाएको छ ।