ढोरपाटन (बागलुङ) । अविरल वर्षाले बागलुङको जैमिनी नगरपालिका–५ माझबौरस्थित सडकमाथिबाट पहिरो खस्दा कालीगण्डकी करिडोर अवरुद्ध भएको छ । पहिरो खसेर करिडोर अवरुद्ध हुँदा मुक्तिनाथ जाने भारतीय पर्यटकसहित जैमिनीको छिस्ती, जैदी, अर्जेवा, बिनामारेलगायत स्थानबाट जिल्ला सदरमुकाम बागलुङ बजार आउने सवारीसाधन ठप्प भएका छन् ।
राष्ट्रिय गौरवको सो आयोजनाले सडक खुलाउने प्रयास गरे पनि भारी वर्षाका कारण उपकरण सञ्चालन गर्न नसकेकोे जैमिनी नगरपालिकाका उपप्रमुख हरिहर शर्माले बताए । वर्षा नरोकिँदासम्म सडक खुलाउन नसकिने उनले जानकारी दिए । उनले भने, “अहिले भारी वर्षा जारी रहेको हुँदा सडक खुलाउन सकिएको छैन, अहिले पनि सडकमाथिबाट लगातार पहिरो खसिरहेको छ ।”
बागलुङ नगरपालिकाका उपप्रमुख राजु खड्काले करिडोरको बागलुङ नगरपालिका–१० दब्ल्याङमा पनि पहिराले सडक अवरुद्ध हुँदा भारी वर्षाका कारण बाटो खुलाउन नसकिएको जानकारी दिए । सडक अवरुद्ध हुँदा दक्षिण बागलुङ सिधा यातायताबाट बिच्छेद भएको छ ।