चितवन । मुग्लिन–मलेखु सडकखण्ड विस्तार र स्तरोन्नतिका काम सुस्त गतिमा भइरहेको छ । पृथ्वी राजमार्गअन्तर्गतको ३९ किलोमिटर यो खण्डमा सन् २०२२ डिसेम्बरदेखि काम सुरु गरिएकामा एक वर्ष छ महिनाको अवधिमा १३ प्रतिशत मात्र काम भएको छ ।
सम्झौताअनुसार यस अवधिमा ३३ प्रतिशत कार्यसम्पन्न हुनुपर्ने थियो । नागढुङ्गा–मुग्लिन सडक आयोजना पश्चिम खण्ड (नारायणगढ–मुग्लिन)का सूचना अधिकारी कृष्ण आचार्यले भने नक्शाङ्कन, वर्षात् र चाडपर्वलगायत कारणले लक्ष्यअनुसार काम नभएको बताए । यहाँ सम्झौता गर्ने बेलाको नक्शाङ्कन परिवर्तन गर्नुपरेको र त्यस कार्यमा छ महिना लागेकाले पनि काममा ढिलाइ भएको उनले बताए ।
ई आचार्यका अनुसार यो खण्डमा रहेका आठवटा पुलमध्ये पाँच पुल निर्माण, नाली, मोड सुधार, टेवा पर्खाल निर्माण, कल्भड विस्तार र सडक चौडाइ गर्ने काम भइरहेका छन् । सडकखण्डमा छवटा पुल निर्माणका लागि ठेक्का लागेकामा हुग्दी खोलास्थित पुलमा केही व्यवस्थापकीय काम बाँकी रहेकाले निर्माण अगाडि बढेको छैन ।
विश्व बैंकको आर्थिक सहयोग रहेको यो खण्ड तीन वर्षभित्र निर्माणसम्पन्न गर्ने गरी शर्मा–जेडआई सिजी जेभीले चार अर्ब रुपैयाँमा ठेक्का पाएको छ ।