सुनसरी । सुनसरी र सप्तरी जिल्लाका तटीय क्षेत्रमा सप्तकोशी नदीको बहावमा उतारचढाव सुरु भएसँगै उच्च सतर्कता अपनाइएको छ । जुनकुनै समयमा बढ्नसक्ने विपद्लाई दृष्टिगत गर्दै तटीय भेगका दुवै जिल्ला सुनसरी र सप्तरीले सतकर्तासहितको आवश्यक तयारी अघि बढाएको हो ।
कोशी ब्यारेजमा दुवै जिल्लाका सुरक्षा निकायको उपस्थितिमा बाढी पूर्वतयारीलाई लिएर आकस्मिक बैठक बोलाइएको छ । बैठकले नदीमा आउनसक्ने बाढीको आँकलन गर्दै विपद् पूर्वतयारीको कार्यलाई तदारुकताका साथ बढाउने निर्णय गरेको छ ।
बाढीसँगै कोशीमा डुङ्गा चलाउन र माछा मार्न प्रशासनले रोक लगाएको जिल्ला प्रशासन कार्यालय सुनसरीका प्रमुख जिल्ला अधिकारी रामचन्द्र तिवारीले जानकारी दिए । बैठकले पानीको बहावसँगै आवश्यकताअनुसार ब्यारेजका ढोका खोल्न संयुक्त पहल गर्ने निर्णय गरेको उनको भनाइ छ ।
टोलीले कोशी ब्यारेज नियन्त्रण कक्ष (कन्ट्रोल रुम) का साथै ब्यारेज पुलको संरचना र नदी तटीय क्षेत्रको निरीक्षण गरेको छ । सप्तकोशी नदीमा केही दिन यता दुई लाख क्युसेकको आसपास बहाव मापन हुँदै आएको छ ।
पछिल्ला केही वर्ष यता सप्तकोशीको जलस्तर बढ्दा ब्यारेजका ५६ वटै ढोका खोलिँदै आइएको छ । भारतीय पक्षको नियन्त्रणमा रहेको ब्यारेजका ढोका खोल्न नेपाली पक्षले भारतसँग आग्रह गर्नुपर्ने हुन्छ । ढोका खोल्न ढिला हुँदा वर्षेनी नेपाली भूभाग डुबानमा पर्ने गरेको छ ।