काठमाडौं । सरकारले एउटै व्यक्ति एकै समयमा दुई वा सोभन्दा बढी सहकारी संस्थाको सञ्चालक हुन नपाउने व्यवस्था गरेको छ । सहकारी विभागले हाल एउटै व्यक्ति दुई वा त्यसभन्दा बढी सहकारी संस्थाको सञ्चालक रहेको भए ३० दिनभित्र त्याग गर्न समयसीमा निर्धारण गरेको छ ।
विभागले बुधबार सबै सहकारी संस्थाहरूलाई परिपत्र जारी गरी ३० दिनभित्र एकल पद कायम गर्न निर्देशन दिएको हो । सहकारी ऐन २०७४ को दफा ४१ (५) मा कुनै व्यक्ति एकै समयमा एक मात्र सहकारी संस्थाको सञ्चालक हुन सक्ने व्यवस्था रहेको छ । ऐनको उक्त प्रावधान कार्यान्वयन गर्न निर्देशन जारी गरिएको सहकारी विभागका रजिस्ट्रार पीताम्बर घिमिरेले जानकारी दिए । सहकारी बैंकको हकमा पनि पनि यस्तै निर्देशन दिइएको विभागले जनाएको छ । यो निर्देशन कार्यान्वयन भए–नभएको अनुगमन गरिने र यदि कार्यान्वयन नभएको पाइएमा कानुनबमोजिम कारबाही गरिने पनि विभागले जनाएको छ ।
यस्तै, विभागले सहकारी संस्थाका ऋणीहरूको कर्जा तीन महिनाका लागि पुनर्तालिकीकरण गर्न पनि परिपत्र गरेको छ । परिस्थितिजन्य कारणले समस्यामा परी कर्जालाई नियमित गर्न नसकेका ऋणीलाई कर्जा चुक्ता गर्न परेको कठिनाइलाई दृष्टिगत गरी ऋणी सदस्यलाई परेको प्रभाव मूल्यांकन गरी सदस्यको माग, आवश्यकता र औचित्यका आधारमा गत वर्ष खराब ऋणीको सूचीमा नपरेका र यसअघि यस्तो सुविधा नलिएका ऋणीहरूको हकमा मात्र कर्जा पाकेको ५० प्रतिशत ब्याज भुक्तानी गरेमा बाँकी सावाँलाई तीन महिनाको अवधिका लागि पुनर्तालिकीकरण गर्न सकिने विभागले जारी गरेको परिपत्रमा उल्लेख छ ।