नयाँ दिल्ली । भारतीय सेयरबजारले बुधबार पनि नयाँ उचाइ कायम गर्र्दै रेकर्ड बनाएको छ । भारतका दुई प्रमुख सेयरबजार सूचकहरु सेन्सेक्स र निफ्टी बढेर नयाँ रेकर्ड बनाएका हुन् ।
कारोबारको क्रममा सेन्सेक्स ८० हजार ७४ विन्दु र निफ्टी २४ हजार तीन सय सात विन्दुसम्म पुगेका थिए । तर, कारोबार बन्द हुँदासम्म केही तल झ¥यो र सेन्सेक्स ७९ हजार नौ सय ८६ विन्दु र निफ्टी २४ हजार दुई सय ८६ विन्दुमा बन्द भएका छन् । यी दुवै विन्दु अहिलेसम्मकै उच्च क्लोजिङ विन्दु हुन् ।
सेन्सेक्समा ३० मध्ये २४ वटा समूह उकालो लागेका छन भने छवटा घटेका छन् । बैंकिङ, पावर र मेटल समूहका सेयरमा अधिक तेजी देखिएको छ ।
भारतमा बुधबार निजी क्षेत्रको सबैभन्दा ठूलो एचडीएफसी बैंकको सेयरभाउमा उछाल आएपछि समग्र सेयरबजार पनि बढेको भारतीय सञ्चार माध्यमहरुले उल्लेख गरेका छन् ।
भारतमा सेयरबजारले मंगलबार पनि उच्च विन्दु बनाएको थियो । पछिल्लो सात महिनामा सेन्सेक्स ७० हजार विन्दुबाट ८० हजारसम्म पुगेको छ । सन् २०२३ डिसेम्बर ११ मा सेन्सेक्स ७० हजार विन्दुमा थियो । जुन ३ जुलाईमा ८० हजार छोयो । पछिल्लो एक वर्षमा सेन्सेक्स २२ प्रतिशत बढेको छ ।