काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का तर्फबाट सङ्घीय सरकारमा सहभागी मन्त्रीहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँगको छलफलपछि तत्काल आफ्नो पदबाट राजीनमा नदिने भएका छन् ।
रास्वपाको संसदीय दलका प्रमुख सचेतक सन्तोष परियारले प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार प्रधानमन्त्री दाहाललाई राजीनामा पत्र बुझाउन पुगेका रास्वपाका मन्त्रीहरुले प्रधानमन्त्रीसँगको छलफपछि उनलाई साथ दिने निर्णयमा पुगेको जानकारी दिए ।
“प्रधानमन्त्रीले पछिल्लो राजनीतिक घटनाक्रम जसरी अघि बढेको छ, संवैधानिक अधिकारको प्रयोग गर्छु, संसद् फेस गर्छु भन्नुभएको छ । उहाँको संवैधानिक अधिकारको सम्मान गर्दै हामीले कमसेकम उहाँले सदनलाई फेस गर्दासम्म साथ दिने गरी राजिनामा स्थगन गरेका हौँ”, प्रमुख सचेतक परियारले भन्नुभयो । प्रधानमन्त्री दाहालसँग आफुहरुले चाँडोभन्दा चाँडो संसदको फेस गर्न आग्रह गरेको उनले बताए ।
वर्तमान सरकारमा रास्वपाबाट मन्त्री पदमा रहेका पार्टीका सभापति रवि लामिछाने उपप्रधानमन्त्री तथा गृहमन्त्री, उपसभापति डोलप्रसाद अर्याल श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री, विराजभक्त श्रेष्ठ युवा तथा खेलकुदमन्त्री तथा सुमना श्रेष्ठ शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीे हुन् ।