काठमाडौं । अन्तर्राष्ट्रिय टेक कम्पनी इन्ड्राइभले इन्डोनेसियामा आगामी नोभेम्बरमा आफ्नो घुमन्ते अल्टरनेटिभा फिल्म अवार्डको दोस्रो संस्करण आयोजना गर्ने भएको छ । यस्तै, कम्पनीले इन्डोनेसियामा अवार्डहरूसँगै नयाँ फेस्टिभल सोकेस समेत सुरु गर्ने जनाएको छ । यसमा मनोनित भएकाहरूका सबै सर्टलिस्ट गरिएका चलचित्रहरूको सार्वजनिक प्रदर्शनहरू समावेश छन् ।
इन्डोनेसियामा आयोजना हुने फेस्टिभलले, सन् २०२३ मा कजाकिस्तानमा आयोजित वैकल्पिक फिल्म परियोजनाको सफल उद्घाटनको संस्करणलाई पछ्याएको छ । आगामी दोस्रो संस्करणले इन्डोनेसियाली र दक्षिण पूर्वएसियाली बजारमा आफ्नो ध्यान केन्द्रित गर्ने बताइएको छ । जुन १७ तारिखदेखि अवार्डहरूका लागि आवेदन खुला गरिएको छ । सबै एसियाली देशहरूका फिल्म निर्माताहरूलाई प्रतिस्पर्धाका लागि फिचर फिल्म, वृत्तचित्र, एनिमेसन र हाइब्रिड फिल्महरू पेस गर्न आमन्त्रित गरिएको कम्पनीले जनाएको छ । सर्ट फिल्म क्याटोगोरीको लागि, आवेदनहरू विशेषरूपमा दक्षिण पूर्व एसियाबाट स्वीकार गरिने बताइएको छ ।
यस अवार्डको कुल पुरस्कार राशी कोष एक लाख अमेरिकी डलर छ भने चार पूर्ण–लम्बाइका क्याटगोरीहरूमा प्रत्येकलाई २० हजार डलर प्रदान गरिने र सट्र्स अवार्डहरूको श्रेणीमा दुई विजेताहरू प्रत्येकलाई १० हजार डलर दिइनेछ । अल्टरनेटिभा फिल्म प्रोजेक्टकी प्रमुख लिजा सुरगानोभाले अल्टरनेटिभा फिल्म अवार्डले स्थानीय फिल्म उद्योगको विकासलाई सहयोग गर्ने बताइन् ।
‘यसले न्यून प्रतिनिधित्व भएका समुदायका फिल्म निर्माताहरू, जससँग महत्वपूर्ण कथाहरू छन् र जसले सांस्कृतिक र सामाजिक परिदृश्यमा प्रभाव पार्ने सम्भावना छ, तिनीहरूका लागि उत्सवको रूपमा मनाउँछ’, उनले भनिन् ।
कम्पनीका अनुसार सन् २०२३ मा अल्टरनेटिभा फिल्म प्रोजेक्टमा अवार्ड स्ट्यान्डरका लागि २५ देशहरूमा तीन सय ५० आवेदनहरू प्राप्त भएका थिए । ‘स्पटलाइट’, ‘फ्युचर भ्वाइस’, ‘अल्टर’, ‘नेटिभा’ र ‘सट्र्स’ अवार्डमा पाँचओटा फिल्मलाई हाइलाइट गरिएको थियो । नेपालबाट प्रतिनिधित्व गरेको, राजन काठेत र सुनिर पाण्डेले बनाएको वृत्तचित्र ‘नो विन्टर होलिडेज’ नामक सिनेमाले ‘नेटिभा’ अवार्ड जितेको थियो ।