काठमाडौं । कुमारी क्यापिटल लिमिटेड र सैदी पावर कम्पनी लिमिटेडबीच सम्झौता भएको छ । सैदी पावरले प्रतिसेयर एक सय रूपैयाँ अंकित दरको एक लाख ७० हजार ४९ कित्ता साधारण सेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरू तथा सर्वसाधारणहरूमा निष्काशन गर्नका लागि कुमारी क्यापिटल लिमिटेडलाई धितोपत्र निष्काशन तथा बिक्रीप्रबन्धकमा नियुक्त गरेको छ ।
उक्त सम्झौतापत्रमा सैदी पावर कम्पनी लिमिटेडका तर्फबाट सञ्चालक समितिका अध्यक्ष कुशल थापा तथा कुमारी क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत पुष्प शर्माले हस्ताक्षर गरेका छन् । सैदी पावर कम्पनी लिमिटेडले कास्की जिल्लामा अवस्थित सैती खोलाको पानी सदुपयोग गरी नौ सय ९९ किलोवाट क्षमताको लघुजलविद्युत् आयोजना निर्माण गरी २०७९ सालबाट व्यावसायिक विद्युत् उत्पादन गरी आयोजना सञ्चालनमा रहेको छ ।
यो आयोजनाबाट उत्पादित विद्युत् शक्ति हेम्जा बास्कोट सबस्टेसनमा जडान गरी बिक्री कार्य भइरहेको छ । आगामी दिनमा कम्पनीले अन्य आयोजनामा समेत लगानी गरी अगाडि बढ्ने योजना रहेको जनाएको छ ।