काठमाडौं । अमेरिकाको अन्तर्राष्ट्रिय विकास सहयोग नियोग (युएसएड) ले विकासका लागि सिकाइ पहुँच अभियान सञ्चालन गरेको छ । युएसएडले नेपालको समृद्धिका लागि भइरहेको योगदान तथा पहलबारे जानकारी दिन लुम्बिनी प्रदेशका विभिन्न स्थानमा सो अभियान सञ्चालन गरेको हो ।
पहिलो कार्यक्रम असार २१ कपिलवस्तु, बाणगंगाको चार नम्बरमा हटियाको आयोजना गरिएको थियो । हटिया भनेको स्थानीयस्तरमा लाग्ने हाटबजारजस्तै जमघट हो । उक्त कार्यक्रममा स्थानीय कलाकारहरूले सांस्कृतिक कार्यक्रम प्रस्तुत गर्नुका साथै विभिन्न खेल प्रतियोगिता भएका थिए भने युएसएडले नेपालमा गरिरहेको सहयोगबारे जानकारी दिइएको थियो । यस्तै, क्यापियनअन्तर्गत शनिबार बुटवलमा सांस्कृतिकसहितको भव्य कार्यक्रम आयोजना गरिएको छ भने आइतबार दाङको लमही, सोमबार बाँकेको कोहलपुर र मंगलबार नेपालगञ्जमा विभिन्न कार्यक्रम हुँदैछन् । काठमाडौंका विभिन्न स्थानमा यस्तै कार्यक्रम गरेर यात्रा समाप्त हुने जनाइएको छ ।
युएसएडले लुम्बिनी प्रदेशका सबै जिल्लाहरूमा स्वास्थ्य, शिक्षा, आर्थिक वृद्धि, वातावरण तथा उत्थानशीलता, लोकतन्त्र, अधिकार र सुशासनका क्षेत्रहरूमा राष्ट्रिय र स्थानीयस्तरका २० भन्दा बढी सक्रिय परियोजनाहरू सञ्चालन गरिरहेको छ । युएसएडले नेपालमा विगत ६३ वर्षदेखि स्वास्थ्य, शिक्षा, आर्थिक विकास, कृषि र विपद् न्यूनीकरणमा साझेदारी गर्दै आएको छ । य्ुएसएडले सन् २०२३ मा स्वास्थ्य, शिक्षा र आर्थिक वृद्धिका कार्यक्रमार्फत १० लाखभन्दा बढी महिलाहरूको जीवनमा प्रत्यक्ष योगदान पु¥यायो भने थप ५० लाख महिलाहरूले विभिन्न कार्यक्रममार्फत अप्रत्यक्षरूपमा लाभ लिएका थिए । सन् २००० देखि युएसएडले नेपालको विकासका लागि साढे एक अर्ब अमेरिकी डलर (एक खर्ब ९६ अर्ब नेपाली रुपैयाँ)भन्दा बढीको सहयोग प्रदान गरेको छ ।