काठमाडौं । मनकामना केवुलकारको स्तरोन्नति गरिने भएको छ । २६ वर्षअघि अस्ट्रियाको डोपलमायर कम्पनीको प्रविधिमा निर्माण भएको यस केवुलकार अहिलेसम्म कुनै पनि प्राविधिक समस्या देखिएको छैन ।
२६ वर्षअगाडि जडित यो प्रविधिमा क्रमिकरूपले समय अनुरूप धेरै विकास भइसकेको र हाल निर्माता कम्पनीले समेत यसका पार्टपूर्जा आदि दिन निकट भविष्यमा समस्या रहने र निर्माता कम्पनीकै सुझावमा समय सापेक्षअनुसार केवुलकारको स्तरोन्नति गर्न लागिएको केवुलकारले जनाएको छ ।
यस केवुलकारमा प्रयोग भएको प्रविधि एनालोगमा आधारित प्रविधि हो । यसमा जडित मोटर डिसी करेन्टबाट चल्छ । अहिले केवुलकारले स्तरोन्नति हुने प्रविधि डिजिटल र नवीनतम् प्रविधि हो र यसलाई डोपलमायरको डि–कन्नेट सिस्टम भनिन्छ । यसपछि जडान भएको मोटर एसी करेन्टबाट चल्नेछ ।
दुई स्टेसनबीच जडित कम्युनिकेसन केवल समेत डिजिटल प्रविधिअनुरूप हुने भएकोले सो पनि फेरिने हुन्छ जसको लम्बाई करिब ३२ सय मिटरको हुने कम्पनीले जनाएको छ । केवलकारको ६५ सय मिटरको तार लठ्ठा पनि फेरिने भएको छ ।
डोपलमायरको प्राविधिकहरू नै आएर गर्ने सो कार्य गर्न लाग्ने समयको प्रारम्भिक अनुमान ५० दिन लाग्ने कम्पनीले जनाएको छ ।