काठमाडौं, शुक्रबारदेखि अविरल परेको वर्षाका कारण आएको बाढी र पहिरोमा परी ४८ जनाले ज्यान गुमाएका छन् भने ५४ जना घाइते भएका छन् । प्रहरीका अनुसार बाढीपहिरोमा परेर आइतबार दिउँसोसम्म ४८ जनाको मृत्यु भएको छ । काठमाडौंमा एक जना, कोशी प्रदेशमा ११ जना, मधेस प्रदेशमा दुई जना, बागमती प्रदेशमा दुई जना, गण्डकी प्रदेशमा १९ जना, लुम्बिनी प्रदेशमा १० जना, कर्णाली प्रदेशमा दुई जना तथा सुदूरपश्चिम प्रदेशमा एक जनाको मृत्यु भएको छ । बाढीपहिरो तथा विपत्का कारण काठमाडौंमा तीन जना, कोशी प्रदेशमा ११ जना, मधेस प्रदेशमा चार जना, बागमती प्रदेशमा चार जना, गण्डकी प्रदेशमा १८ जना, लुम्बिनी प्रदेशमा दुई जना, कर्णाली प्रदेशमा ११ जना तथा सुदूरपश्चिम प्रदेशमा एक जना गरी जम्मा ५४ जना घाइते भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।घाइतेहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । कोशी प्रदेशमा ४१ जना, गण्डकी प्रदेशमा १२ जना गरी जम्मा ५३ जनाको उद्धार गरिएको छ । बाढी–पहिरोमा परी कोशी प्रदेशमा तीन जना, बागमती प्रदेशमा दुई जना, गण्डकी प्रदेशमा एक जना र कर्णाली प्रदेशमा एक जना गरी सात जना बेपत्ता भएका छन् । बाढीको कारण एक सय २१ घर डुबानमा परेका छन् । जसअन्तर्गत ८२ वटा घर, ४६ वटा गोठ, ४१ वटा पुल, एक विद्यालय र दुईवटा सरकारी कार्यालयमा क्षति पुगेको प्रहरीले जनाएको छ । बाढीपहिरोमै परी एक सय ८८ वटा पशु चौपायाको मृत्यु भएको छ । उक्त अवधिमा विपत्का घटनाबाट एक हजार ५८ घरपरिवार विस्थापित भएका छन् ।भारी वर्षाका कारण आइतबार पनि देशभरकै जनजीवन प्रभावित भएको तथा कोशी नारायणीलगायतका ठूला नदीमा जलसतह उच्च भएको प्रहरीले जनाएको छ । देशैभरि तीनवटै सुरक्षा निकाय हाईअलर्टका साथ प्रभावित क्षेत्रमा परिचालन भई खोज तथा उद्धार जारी राखेका प्रहरी प्रधान कार्यालयले जनाएको छ । रासस