ढाका । बंगलादेशको मुद्रास्फीति कम भए पनि उपभोक्ता मूल्य निरन्तर बढ्दै गएकोे छ । बंगलादेशको तथ्याङ्क विभाग (बीबीएस)को पछिल्लो तथ्याङ्कअनुसार मुद्रास्फीति मे महिनाको तुलनामा जुनमा केही कमी भएको अर्थात् नौ दशमलव ८९ प्रतिशतबाट घटेर नौ दशमलव ७२ प्रतिशतमा झरेको छ ।
बीबीएसले सार्वजनिक गरेको उपभोक्ता मूल्य सूचकाङ्कअनुसार खाद्य मुद्रास्फीति अघिल्लो महिना १० दशमलव ७६ प्रतिशत रहेकोमा जुन महिनामा केही घटेर १० दशमलव ४२ प्रतिशतमा झरेको छ ।
गैरखाद्य वस्तुको मुद्रास्फीति मार्चमा नौ दशमलव १९ प्रतिशत रहेकोमा जुनमा घटेर नौ दशमलव १५ प्रतिशतमा झरेको छ ।
आर्थिक वर्ष २०२३/२४ (सन् २०२३ जुलाईदेखि सन् २०२४ जुनसम्म)मा देशको औसत मुद्रास्फीति नौ दशमलव ७३ प्रतिशत पुगेको छ जुन आर्थिक वर्षको बजेट लक्ष्य सात दशमलव पाँच प्रतिशतभन्दा धेरै बढी हो ।
अघिल्लो आर्थिक वर्षमा बंगलादेशको समग्र मुद्रास्फीति नौ दशमलव शून्य दुई प्रतिशत रहेको थियो । बंगलादेशको संसद्ले गत जुन ३० मा आर्थिक वर्ष २०२४/२५ का लागि सात दशमलव ९७ ट्रिलियन टाका (६८ अर्ब अमेरिकी डलर)को राष्ट्रिय बजेट पारित गरेको थियो ।
आर्थिक वर्ष २०७६/७७ को बजेट प्रस्तावमा आर्थिक वर्ष २०७७/७८ का लागि छ दशमलव पाँच प्रतिशत रहेको मुद्रास्फीति दरलाई संशोधन गरी छ प्रतिशत कायम गरिएको छ ।