काठमाडौं । नेपालका लागि बीवाईडी गाडीको आधिकारिक वितरक साइमेक्स इन्कले विद्युतीय सवारी साधनको मुल्यमा भारी वृद्धि गरेको छ । आर्थिक वर्ष २०८१/८२ को बजेटमा सरकारले कर नीतिमा गरेको परिवर्तनका कारण विद्युतीय सवारीसाधनको मूल्य बढाउनु परेको कम्पनीले जनाएको छ ।
कम्पनीले बीवाईडी अट्टो थ्री एड्भान्समा ९१ हजार रुपैयाँ र सुपेरियरमा एक लाख ९२ हजार रुपैयाँ वृद्धि गरेको छ । यस्तै, बीवाईडी डल्फिनको एक लाख ३५ हजार रुपैयाँ, बीवाईडी सिल डायनामिकमा पाँच लाख रुपैयाँ, सिल प्रिमियममा छ लाख ५० हजार रुपैयाँ र सिल पर्फमेन्समा १० लाख रुपैयाँले मूल्यवृद्धि गरिएको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार यसअघि बीवाईडी अट्टो थ्री एड्भान्स र सुपेरियरको मूल्य क्रमशः ५५ लाख ९९ हजार र ६५ लाख ८८ हजार रुपैयाँ थियो ।
यस्तै, बीवाईडी डल्फिनको मूल्य ३९ लाख ८० हजार रुपैयाँ, बीवाईडी सिल डायनामिकको एक करोड पाँच लाख रुपैयाँ, सिल प्रिमियमको एक करोड ३९ लाख रुपैयाँ र सिल पर्फमेन्सको एक करोड ८५ लाख रुपैयाँ रहेको थियो ।