लेखनाथ (कास्की) । नेपाल प्रेस युनियन कास्कीद्वारा मंगलबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले राजनीतिक स्थायित्वका लागि संविधान संशोधन गर्ने मूल उद्देश्यसहित कांग्रेस एमालेसहितको राष्ट्रिय सरकार गठन गर्न लागिएको बताएका छन् ।
उनले संविधान निर्माणपछि पनि स्थिर सरकार बन्न नसक्दा जनअपेक्षाअनुसार काम नसकिएको भन्दै संविधान संशोधनलगायत विषयमा बृहत् सहमतिका लागि दुई पार्टी एकठाउँमा आएको उल्लेख गरे ।
उनले शान्ति, विकास र राजनीतिक स्थायित्वका लागि संविधान संशोधन आवश्यक रहेको बताए ।
पूवमन्त्री केसी भने,“नेपालको इतिहासमा अहिलेसम्म बनेका ७ संविधानमध्ये कुनै पनि लामोसमय टिकेनन् । वर्तमान संविधानमा टेकेर परिवर्तित व्यवस्थाको स्थायित्व, विकास र समृद्धिको चाहना पूरा गर्न स्थिर सरकार बनाउने हाम्रो चाहना हो । त्यसैले संविधान संशोधन गरेर अगाडि बढ्नुको विकल्प छैन् ।”
सहमतिअनुसार अब एमाले अध्यक्ष केपी शर्मा ओलीकै नेतृत्वमा सरकार बन्ने र त्यसमा संविधानले कुनै बाधा नगर्ने उनको स्पष्टोक्ति थियो । केसीले ठूला दलहरू एकैठाउँमा रहँदा तानाशाही हुन्छन् भन्ने तर्क सही नभएको भन्दै सधैँ अस्थिरता मच्चाउने र दलहरूप्रति वितृष्णा फैलाउने कुरालाई ठूला दलले हेरेर बस्न नहुने धारणा राखे ।