काठमाडौं, प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले रिलायन्स स्पिनिङ मिल्सलाई महँगो मूल्यमा सर्वसाधारणलाई आईपीओ बिक्री गर्न दिएको बारे नेपाल धितोपत्र बोर्डसँग स्पष्टीकरण सोधेको छ । रिलायन्स स्पिनिङको वित्तीय विवरण शंकास्पद देखिएको भन्दै लेखा समितिले मंगलबार बोर्डसँग विभिन्न पाँच प्रश्नको जवाफ मागेको हो । लेखा समितिले सात दिनभित्र जवाफ दिन भनेको छ । लेखा समितिले उक्त कम्पनीको आधारमूल्य के आधारमा तय गरिएको हो ? बुक बिल्डिङमा आउने कम्पनीको आधारमूल्य तय गर्ने अधिकार कसलाई छ र यसको प्रक्रिया के हो ? भन्दै प्रश्न सोधेको छ । समितिले गत आर्थिक वर्षमा मिल्सले आफ्नो वित्तीय विवरणमा प्रतिसेयर आम्दानी ५४ रुपैयाँँँ ३४ पैसा रहेको उल्लेख गरेको तर अहिले एक वर्ष नपुग्दै उक्त आम्दानी घटेर दुई रुपैयाँ आठ पैसामा सीमित हुनुको कारण पनि सोधेको छ । समितिले यसअघि वित्तीय विवरण तयार गर्दा मेनुपुलेसन भएको अनुमान गर्न किन नसकिने भनेको छ । सर्वसाधारण र संस्थागत लगानीकर्तालाई कम्पनीको तर्फबाट जारी गरिएकोे आह्वान पत्रमा आर्थिक वर्ष २०७९÷८० मा प्रतिसेयर आम्दानी ५४ रुपैयाँ ३४ पैसा, आर्थिक वर्ष २०८०÷८१ मा ३२ रुपैयाँ ९० पैसा, २०८१÷८२ मा ३२ रुपैयाँ ८९ पैसा र २०८२÷८३ मा ५३ रुपैयाँ ९३ पैसा हुने प्रक्षेपण गरिएको थियो । तर कम्पनीबाट प्रकाशित आर्थिक वर्ष २०८०÷८१को चैत सम्मको वित्तीय विवरणमा प्रतिसेयर आम्दानी दुई रुपैयाँ आठ पैसा मात्र देखिएको हुँदा प्रक्षेपित विवरण र वास्तविकतामा सामन्जस्यता नदेखिएको भन्दै के भएको हो सोको स्पस्ट जवाफ उपलब्ध गराउन भनेको छ । कम्पनीमा बुक विल्डिङका लागि विड गर्न योग्य संस्थागत लगानीकर्ताको उक्त कम्पनी वा कम्पनीका सञ्चालकहरूसँग स्वार्थ बाझिएको छ कि छैन ? बुक विल्डिङमा कुन संस्थागत लगानीकर्ताले कति मूल्यमा कति कित्ता सेयरका लागि आवेदन दिएका थिए सोको विस्तृत विवरण उपलब्ध गराउन पनि भनेको छ । कम्पनीले तीनवटा आर्थिक वर्षमा फरक—फरक प्रतिसेयर आम्दानी (हरेक वर्ष घट्दै गएको) सार्वजनिक गरेको देखिएकोले सर्वसाधारण लगाानीकर्ताको लगानी सुरक्षा सम्बन्धमा नेपाल धितोपत्र बोर्डको धारणा मागेको छ ।