बैंकिङ क्षेत्रमा निष्क्रिय कर्जा उच्चरूपमा बढेपछि यसको असर गैरबैंकिङ सम्पत्तिमा परेको छ । नेपाल राष्ट्र बैंकको प्रतिवेदनअनुसार बैंकिङ क्षेत्रमा निष्क्रिय कर्जाको अनुपात बढ्दै जाँदा गैरबैंकिङ सम्पत्ति पनि बढ्दै गएको छ । यस आर्थिक वर्षको १० महिनासम्मको तथ्याङ्कअनुसार बैंक तथा वित्तीय संस्थाहरूको औसत निष्क्रिय कर्जा तीन दशमलव ९८ प्रतिशत छ । बैंकहरूसँग अहिले २७ अर्ब ६० करोड १० लाख रूपैयाँबराबरको गैरबैंकिङ सम्पत्ति छ । जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ११ अर्ब ८२ करोड ३० लाख रूपैयाँले बढी हो । गतवर्ष औसत तीन दशमलव ३४ प्रतिशत कर्जा निष्क्रिय हुँदा गैरबैंकिङ सम्पत्ति दायित्व १५ अर्ब ७७ करोड ८० लाख रूपैयाँ थियो ।
वाणिज्य बैंकहरूसँग मात्र गैरबैंकिङ सम्पत्ति दायित्व २३ अर्ब ७४ करोड ६० लाख रूपैयाँ छ । जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १० अर्ब ५५ करोड ३० लाख रूपैयाँले बढी हो । एक वर्षअघि वाणिज्य बैंकहरूसँग १३ अर्ब १९ करोड २० लाख रूपैयाँबराबरको गैरबैंकिङ सम्पत्ति थियो । उक्त अवधिमा तीन दशमलव २३ प्रतिशत निष्क्रिय कर्जा थियो । अहिले वाणिज्य बैंकहरूको निष्क्रिय कर्जा बढेर तीन दशमलव ८९ प्रतिशत पुगेको छ । विकास बैंकहरूको गैरबैंकिङ सम्पत्ति पनि बढेको छ । हाल विकास बैंकहरूमा तीन दशमलव ६३ प्रतिशत निष्क्रिय कर्जा छ । यस्तै गैरबैंकिङ सम्पत्ति दायित्व दुई अर्ब ५१ करोड १० लाख रूपैयाँ छ । जुन एक वर्षअघिको तुलनामा ७१ करोड ८० लाख रूपैयाँ बढी हो । एक वर्षअघि २०८० वैशाख मसान्तमा विकास बैंकहरूको निष्क्रिय कर्जा तीन दशमलव ४० प्रतिशत र गैरबैंकिङ सम्पत्ति एक अर्ब ७९ करोड ३० लाख रूपैयाँ थियो ।
फाइनान्स कम्पनीहरूको गैरबैंकिङ सम्पत्ति पनि बढेको छ । गत वैशाख मसान्तसम्म फाइनान्स कम्पनीहरूको निष्क्रिय कर्जा १० दशमलव ४० प्रतिशत र गैरबैंकिङ सम्पत्ति एक अर्ब ३४ करोड ५० लाख रूपैयाँ पुगेको छ । एक वर्षअघिको तुलनामा फाइनान्स कम्पनीहरूको गैरबैंकिङ सम्पत्ति ५५ करोड २० लाख रूपैयाँले बढेको छ । गतवर्ष वैशाख मसान्तमा फाइनान्स कम्पनीहरूको निष्क्रिय कर्जा अआठ दशमलव १९ प्रतिशत र गैरबैंकिङ सम्पत्ति ७९ करोड ३० लाख रूपैयाँ थियो ।अर्थतन्त्रमा सुस्त बनेपछि बैंक तथा वित्तीय संस्थाले लगानी गरेको कर्जा उठ्न नसक्दा गैरबैंकिङ सम्पत्ति बढेको हो । अर्थतन्त्रमा देखिएको शिथिलतासँगै ऋणीले कर्जाको सावाँब्याज तिर्नसक्ने क्षमतामा कमी आएको छ ।
नियमितरूपमा कर्जाको सावाँब्याज नआएपछि बैंकहरूले नियमसङ्गत धितोको रूपमा रहेको सम्पत्तिलाई लिलामीको प्रक्रियामा लैजाने गर्छन् । तर, पटक–पटक लिलामीको सूचना जारी गर्दा पनि धितो लिलाम हुन नसकेको अवस्थामा त्यस्तो सम्पत्तिलाई कर्जाबापतको रकम प्रोभिजन गरेर गैरबैंकिङ सम्पत्तिको रूपमा आफैँले सकार गर्नुपर्छ । यस्तो सम्पत्ति स्वप्रयोजनको लागि बाहेक अन्य अवस्थामा बैंकहरूले निश्चित समयभित्र पुनः बोलकबोलमार्फत बिक्री गरेर नगदमा रूपान्तरण गर्नुपर्छ ।