काठमाडौं । एनआईसी एसिया बैंकले कर्जावाला ग्राहकहरूलाई ब्याजदरमा छुट दिने भएको छ । देशमा हाल कायम रहेको आर्थिक शिथिलताका कारण बैंकको कर्जा ग्राहकहरूमा परेको असरलाई न्यूनीकरण गर्न सघाउ पुर्याउने हेतुले २०८० चैत मसान्तसम्ममा देहायबमोजिमले भाका नाघेका कर्जाहरूको हकमा सम्बन्धित ऋणीले सम्पूर्ण कर्जा रकम २०८१ असार महिनाभित्रमा चुक्ता भुक्तान गरेमा जरिबाना तथा हर्जाना रकममा शतप्रतिशत छुट र साधारण बक्यौता ब्याज रकममा समेत छुट दिने योजना बैंकले ल्याएको हो ।
मासिक तथा त्रैमासिक किस्ताबन्दीमा भुक्तानी हुने वा चालू पुँजी कर्जा तथा अन्य रिभल्विङ प्रकृतिका कर्जाहरूलगायत बैंकबाट प्रवाह भएका कुनै पनि प्रकारका कर्जाहरूमा आर्थिक शिथिलताका कारणले मर्कामा परेका ग्राहकहरूले यस योजनामा सहभागी भई लाभ लिन सक्ने बैंकको भनाइ छ । यस समयमा राष्ट्रिय अर्थतन्त्रको बृहत्तर हितको निमित्त सबै सरोकारवालाहरूले आ–आफ्नो हिसाबले योगदान पुर्याउनुपर्ने आजको टड्कारो आवश्यकतालाई हरसम्भव सम्बोधन गर्न यस बैंकले ऋणीहरूका लागि कर्जामा आकर्षक ब्याज छुटको व्यवस्था गरेको हो ।
बैंकले ल्याएको यस छुट योजनाबाट आर्थिक शिथिलताले समस्यामा परेका ग्राहकहरूको वित्तीय भार कम गर्न केही हदसम्म भए पनि मद्दत पुग्नुका साथै देशको समग्र अर्थतन्त्रको पुनरुउत्थान एवं दिगो सबलीकरणमा समेत टेवा पुग्ने बैंकले विश्वास लिएको छ ।