बेइजिङ । युरोपियन युनियन (ईयू)ले चीनमा उत्पादित विद्युतीय गाडीको आयातमा लाग्ने कर बढाएपछि चीन र ईयूबीच विवाद उत्कर्समा पुगेको छ । ईयूले ईभीको ट्यारिफबारे चीन छलफल गर्न अनिच्छुक रहेको बताएपछि चीनले त्यसको कडा खण्डन गरेको छ ।
ईयूका एक अधिकारीले चिनियाँ विद्युतीय गाडीको ट्यारिफ बढाउने समबन्धमा चीनसँग महिनौँसम्म परामर्श गर्न चाहेको तर चीनले नमानेको बताएका थिए । चीनको वाणिज्य मन्त्रालयले सोमबार त्यही आरोपको खण्डन गरेको हो । उसले यस्तो तथ्य गम्भीररुपमा असङ्गत रहेको उल्लेख गरेको छ ।
ईयूले सन् २०२३ को अक्टोबारमा चिनियाँ ईभीमा अनुदान दिएको बारे अनुसन्धान सुरु गरेदेखि नै चीनले त्यसको विरोध गरेको थियो । मन्त्रालयका प्रवक्ताले यस विषयमा शीर्ष नेताहरुबीच र मन्त्रीस्तरमा आमने–सामने घेटघाट भएको र पत्रहरुमार्फत कुराकानी भएको उल्लेख गरेका छन् ।
वाणिज्य मन्त्रालयले चीनले आफ्नो पूर्ण इमानदारिता देखाएको उल्लेख गर्दै युरोपेली पक्षले पनि इमानदारितापूर्वक परामर्श प्रक्रियालाई अगाडि बढाउने र पारस्परिकरुपमा स्वीकार्य नीति लिन पुग्ने विश्वास गरेको बताएको छ ।