काठमाडौं । ग्रामीण क्षेत्रका महिलाहरूलाई आर्थिक सशक्तीकरणमा जोड्दै आइरहेको फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले ग्राहक सदस्य मृत्युदाबी बीमा रकम प्रदान गरेको छ । फरवार्डको गढी गाउँपालिका २ की ग्राहक सदस्यको मृत्युपछि उनको परिवारलाई घरमै पुगेर बीमा रकम प्रदान गरेको हो ।
गढी गा.पा. २ सखुवारेकी गितादेवी माझीले २०७९ वैशाख ११ गते संस्थाबाट तीन लाख रूपैयाँ कर्जा लिएकी थिइन् । उनको कर्जा किस्ता तिर्न बाँकी साँवा र ब्याज रकम एक लाख ४४ हजार रहेकोमा फरवार्डले बाँकी कर्जा किस्ता साँवा र ब्याज रकम कटाई मृत्युदाबी बीमाबापतको ८८ हजार ७ सय ७९ रूपैयाँ भुक्तान गरेको हो । कर्जा लिने गितादेवीको दुर्घटनामा मृत्यु भएको थियो ।
बीमा रकम हस्तान्तरण गढी गाउँपालिका वडा नम्बर २ का वडाध्यक्ष प्रभाकर माझीले मृतकका श्रीमान् रामनारायण माझीको घरमै गएर चेक हस्तान्तरण गरे । सो क्रममा बोल्दै वडाध्यक्ष माझीले बैंक तथा वित्तीय संस्था हाम्रो समाज तथा जीवनको अभिन्न अङ्ग भएको बताउँदै यसले हाम्रो जीवनस्तर माथि उकास्न र समाजको विकास गर्न टेवा पुर्याएको बताए ।
लघुवित्त वित्तीय संस्था जनताको बचत र बैंकको कर्जाबाट सञ्चालन हुने तथा बैंक तथा वित्तीय संस्थाको नियमानुसार जनताको बचतको सुरक्षा गरी पुँजी निर्माण गरेर जनताकै लागि विभिन्न पेसा, व्यापार व्यवसायमा लगानी गर्ने भएकोले बैंक तथा वित्तीय संस्थाप्रति सबै इमान्दार बन्नुपर्ने वडाध्यक्ष माझीले बताए । पछिल्लो समय व्यक्तिगत स्वार्थपूर्ति गर्नकालागि उच्छृङ्खल व्यक्ति र समूहले जेमा पनि राजनीति गर्ने प्रवृत्ति मौलाउँदा लघुवित्त क्षेत्रमा सोझासिधा जनतालाई लिएको कर्जा तिर्न पर्दैन भन्दै उकास्ने, भड्काउने गरेकोमा सोको पछि नलाग्न पनि उनले अनुरोध गरे ।
फरवार्ड माइक्रोफाइनान्सका प्रबन्धक तथा विभागीय प्रमुख विनोद कुमार चौधरीले फरवार्ड संस्थाको उद्देश्य, लक्ष्यबारे जानकारी गराउँदै लघुवित्तले समाज र राष्ट्रको अर्थतन्त्रमा पुर्याएको योगदानबारे प्रकाश पारे । उनले बीमा र कर्जा बीमाबारे जानकारी दिँदै शोकसन्तप्त परिवारजनमा मलम लगाउने उद्देश्यले शतप्रतिशत बीमा प्रदान गरिएको बताए ।