काठमाडौं । अपर हेवाखोला हाइड्रोपावर कम्पनी लिमिटेडले १२औँ वार्षिक साधारणसभा सम्पन्न गरेको छ । कम्पनीका अध्यक्ष पवित्रा कार्कीको अध्यक्षतामा बुधबार सम्पन्न सभाले कम्पनीको आर्थिक वर्ष २०७९/०८० को वार्षिक प्रतिवेदन छलफल र सुझावसहित पारित गरेको छ ।
यस्तै सभाले कम्पनीको सञ्चालक समितिबाट गरिएको स्वतन्त्र सञ्चालकमा शेरबहादुर कार्की र संस्थापक सेयरधनीतर्फ भिमलाल पौड्यालको नियुक्ति पनि अनुमोदन गरेको छ । यस्तै सभाले रिक्त रहेको सर्वसाधारणतर्फबाट ईन्द्र प्रसाद लामिछानेलाई चयन गरेको छ । समीक्षा आवको वासलात, लेखापरीक्षण प्रतिवेदन, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरणलगायतका आर्थिक प्रतिवेदन समेत सभाबाट पारित भएका छन् । कम्पनीले आर्थिक वर्ष २०७९/८० मा सेयरधनीलाई लाभांश भने वितरण गरेको छैन । कम्पनीले ८.५ मेगावाटको अपर हेवाखोला जलविद्युत् आयोजना निर्माणसम्पन्न गरी २०७८ चैत महिनादेखि व्यावसायिक उत्पादन गर्दै आएको छ ।