नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज आइतबार चौथो पटक कार्यकारी पद प्रधानमन्त्रीमा नियुक्त हुँदैछन् । पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शुक्रबार संसद्मा विश्वासको मत नपाएर पदमुक्त भएपछि संसद्का दुई ठूला दल नेपाली कांग्रेस र नेकपा एमालेको समर्थनमा एमाले अध्यक्षसमेत रहेका संसदीय दलको नेता ओलीले शुक्रबार राति नै राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष प्रधानमन्त्री नियुक्तिका लागि दाबी पेस गरेका थिए । राष्ट्रपतिले शुक्रबार नै संविधानको धारा ७६ को उपधारा २ बमोजिम प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्नसक्ने प्रतिनिधिसभा सदस्यलाई प्रधानमन्त्री दाबी गर्न आइतबार साँझ ५ बजेसम्मको म्याद दिएका थिए । सोही म्यादअनुसार ओलीले प्रधानमन्त्रीमा शुक्रबार नै दाबी पेस गरेका हुन् । सोही दाबीअनुसार आज ओली प्रधानमन्त्रीमा नियुक्त हुनेछन् र आजै शपथ हुने बताइएको छ । ओली आज प्रधामन्त्री नियुक्त भएमा उनी आफ्नो राजनीतिक जीवनमा चौथो पटक प्रधानमन्त्री बन्नेछन् । यसअघि ओली पहिलो पटक २०७२ असोज २५ गते प्रधानमन्त्री नियुक्त भएर २०७३ साउन १९ गतेसम्म बहाल रहेका थिए । दोस्रो पटक २०७४ साल फागुन ३ गतेदेखि २०७८ वैशाख ३० गतेसम्म प्रधानमन्त्री थिए भने तेस्रो पटक २०७८ वैशाख ३० गतेदेखि २०७८ असार २९ गतेसम्म प्रधानमन्त्री थिए । २०७८ असार २९ गते उनी संसद्बाट नभई सर्वोच्च अदालतको परमादेशबाट प्रधानमन्त्री पदबाट हटेका थिए । संसदीय व्यवस्थामा व्यवस्था परिवर्तन नभई संसद्को सट्टा सर्वोच्च अदालतबाट प्रधानमन्त्री पद बर्खास्तमा पर्ने सम्भवतः ओली नै पहिलो व्यक्ति हुन् । अहिले देशमा चरम आर्थिक सङ्कटको अवस्था छ । निर्माण व्यवसायीले आफ्नो कामको पनि अबौँ रुपैयाँ भुक्तानी पाएका छैनन् । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गतको सडक विभागको मात्रै १० अर्ब रुपैयाँभन्दा बढी रकम त चालू आर्थिक वर्ष २०८०÷०८१ कै भुक्तानी हुन बाँकी छ । अन्य मन्त्रालय मातहतका योजनाहरूमा पनि त्यस्तै अवस्था छ । अर्थ मन्त्रालयले स्रोत सुनिश्चित दिएर काम सम्पन्न भएकाहरूमा पनि रकमान्तर गरेर भुक्तानी दिन सहज भूमिका निर्वाह नगरेको कारण निर्माण व्यवसायी आक्रोशित छन् । अर्थतन्त्रको विषयमा चारैतिर प्रश्न उठिरहेको र जुनसुकै क्षेत्रमा पनि मन्दी आएको बेला ओली प्रधानमन्त्री बन्ने निश्चित भएपछि नेपालको सेयरबजार एक्कासि बढेको छ । करिब एक वर्षको अवधिमा सेयरबजार २२ सय माथि पुगेको छ । आर्थिक स्थायित्व हुने र लगानीको वातावरण बन्ने अपेक्षासहित सेयरबजारमा लगानीकर्ता उत्साहित भएका हुन् । त्यस्तै घरजग्गा व्यवसायमा पनि अहिले चरम निराशा छ । तर, कांग्रेस र एमालेको सरकारले स्थायित्व दिने अपेक्षा गरिएको छ । ‘आर्थिक गतिविधि कमजोर भए पनि नीतिगतरूपमा स्थायित्व हुन्छ र लगानीको वातावरण बन्छ भन्ने सबैको अपेक्षा छ’, एक निर्माण व्यवसायीले भने, ‘निर्माण व्यवसायीले सम्पन्न गरेको कामको भुक्तानी हुनु भनेको बजारमा पैसा जानु हो । त्यसले सबै क्षेत्रलाई अगाडि बढ्न सहयोग गर्छ । बजारमा पैसा जाँदा अर्थतन्त्र सुधार गर्न सहयोग हुने अपेक्षा गरिएको छ ।’अर्थतन्त्रमा सुधार आउने अपेक्षाबीच पनि को अर्थमन्त्री बन्छ भन्ने विषयले पनि अर्थतन्त्रमा प्रभाव पार्नेछ । ओली प्रधानमन्त्री नियुक्त भएपछि बजारलाई उदार राख्ने वा बजारलाई नियन्त्रणमा राख्न चाहने को अर्थमन्त्री हुन्छ त्यसले पनि बजारलाई मनोवैज्ञानिक असर पार्नेछ । तर, बजारलाई चलायमान बनाउन अहिले निर्माण व्यवसायीका रोकिएको सबै रकम भुक्तानी हुनुपर्छ भने अन्य क्षेत्रमा पनि खुकुलो नीति लिएर बजारलाई स्वतन्त्र छाड्नु पर्छ । तर, कामको भुक्तानी नदिने, बजारमा अनावश्यक हस्तक्षेप गर्ने, उपभोगमा कडाइ गर्न थालियो भने अर्थतन्त्रमा मनोवैज्ञानिक त्रास बढ्न गई थप धराशायी हुने देखिन्छ ।