विराटनगर । सुनसरी मोरङ औद्योगिक करिडोरमा दुगढ स्पाइसेस एन्ड फुुड फोडक्ट उद्योग सञ्चालन गर्दै आएका उद्योगी मोतीलाल दुगढले नयाँ बन्न लागेको सरकारको समीकरण आफूले बनाएको दाबी गरेका छन् ।
नेकपा एमालेका केन्द्रीय सदस्य समेत रहेका दुगडले संसद्का दुई ठूला दल नेपाली कांग्रेस र एमालेको सहकार्यमार्फत केपी ओलीलाई प्रधानमन्त्री बनाउन कांग्रेस सभापति शेरबहादुर देउवालाई मनाउन पनि आफू सफल भएको दाबी गरेका छन् । सामाजिक सञ्जालमार्फत उनले केपी ओलीलाई प्रधानमन्त्रि बनाउन शेरबहादुर देउवा राजी भएपछि आफुूहरूले फोटो समेत सार्वजनिक गरेको भन्दै सामाजिक सञ्जालमा आफू र कांग्रेस सभापति शेरबहादुर देउवाको फोटो पनि सार्वजनिक गरेका छन् ।
उद्योगी दुगढ विगतमा एमाले अध्यक्ष ओली प्रधानमन्त्री हुुँदा केही समयका लागि उद्योग वाणिज्य तथा आपूर्ति राज्यमन्त्री भएका थिए । तर, पछिल्लो समय उनी आफूलाई एमालेको उच्च तहको नेतामा रहेको स्वयम् घोषणा गर्न थालेका छन् । सोपश्चात् अहिले दुगढ एमालेभित्रै आलोचनाका पात्र बन्न थालेका छन् । गजेन्द्रनारायण सिंहको नेपाल सद्भावना पार्टीबाट राजनीति सुरु गरेका उनले पछि आफैँ अध्यक्ष भएर नवनेपाल निर्माण पार्टी समेत गठन गरेका थिए । उनको सो पार्टीबाट निर्वाचन नै लडेका थिए । तर, उद्योगी दुगढका कुुनै उमेद्वारले आफ्नो जमानत समेत बचाउन सकेनन् । त्यसपछि उनी एमाले प्रवेश गरेर सांसद हुुँदै राज्यमन्त्रीसम्म बनेका थिए ।
उद्योग तथा वाणिज्य राज्यमन्त्री हुुँदा साल्ट ट्रेडिङले बिक्री गर्दै आएको नुन समेत दुगढ स्पासेज एन्ड स्नेक्सको नामबाट महँगो मूल्यमा बिक्री गरेपछि उनी विवादमा परेका थिए । सुनसरी मोरङ औद्योगिक करिडोरमा पटक–पटक विवादमा आउने उद्योगी मोतीलाल दुगढ पछिल्लो समय कांगे्रस सभापति शेरबहदुर देउवासँगै आफ्नो फोटो सामाजिक सञ्जालमा सार्वजनिक गरेर नयाँ फन्डा गर्न लागेको यहाँका उद्योगी व्यवसायी बताउँछन् । व्यावसायिकरूपले करिव करिव फेल हुुने अवस्थामा पुगेका दुगढ नेकपा एमालेले समानुपातिक सांसद बनाएपछि फेरि धनाड्य बन्न पुगेका थिए ।
केपी ओलीको सरकार विस्थापितसँगै ओरालो लाग्न थालेका उद्योगी मोतीलाल दुगढले आफूले सञ्चालन गरेका उद्योग व्यवसायबाट सरकारलाई बुझाउनुुपर्ने करिब २५ करोडभन्दा माथिको राजस्व रकम बुझाउन आलटाल गर्दै आएका थिए । तर उनले सेन्चुरीको ग्रुपको करिब पचास प्रतिशत सेयर एक भारतीय नागरिलाई बिक्री गरेर हालै सरकारी राजस्वदेखि बैंक ब्याज समेत बुझाएको पाइएको छ । अब फेरि आइतबारदेखि नेपाली कांग्रेसको समर्थनमा केपी ओली प्रधानमन्त्री नियुक्ति हुुँदै गर्दा उद्योगी दुगढले वर्तमान सरकार गठनका लागि आफू रिमोर्ट भएको भन्दै सामाजिक सञ्जालमा कांग्रेस सभापतिसँगै भएको फोटो सार्वजनिक गराएका छन् । तर, उद्योगी दुगढको उक्त दाबीलाई सुनसरी मोरङ औद्योगिक करिडोरकै उद्योगीहरूले केपी ओलीसँग दुगढको सम्बन्ध कुन रूपमा रहेको छ भन्ने सबैलाई जानकारी भन्दै ओली र दुगढको अर्को फोटो विराटनगरमा सार्वजनिक गराएका छन् ।