काठमाडौं । त्रिशुली नदीमा बेपत्ता भएको बस र यात्रुहरूको खोजी कार्यमा वाटर ड्रोनको प्रयोग गरिएको छ । असार २८ गते त्रिशुली नदीमा दुई यात्रुवाहक बस दुर्घटनामा परी बेपत्ता भएका छन् ।
पानीभित्र प्रयोग गरी खोज्न सकिने सोनार क्यामरा, वाटर ड्रोन, पाइपलाइन इन्सपेक्सन सिस्टमलगायतको प्रयोग गरी बस र यात्रुहरूको खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार र्याफ्टबोटमा जडान गरेर पानीभित्रको वस्तुहरू हेर्न सोनार क्यामराले सहयोग पुर्याउँछ । सशस्त्र प्रहरी बल नेपाल विपत् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट नौ जना गोताखोरसहित ४५ जना र नं. १७ गण चितवनबाट ११ जना विपत् व्यवस्थापन तालिम प्राप्तसहित ३५ जनाको सुरक्षा फौज उनीहरूको खोजीकार्यमा परिचालित भएको छ । साथै नेपाली सेना र नेपाल प्रहरी समेत परिचालित रहेका छन् ।
वीरगञ्जबाट काठमाडौंतर्फ आउँदै गरेको बागमती प्रदेश ०३–००६ ख १५१६ नम्बरको डिलक्स र काठमाडौंबाट गौरतर्फ जाँदै गरेको बाग्मती प्रदेश ०३–०११ ख २५९५ नम्बरको बस भरतपुर महानगरपालिका–२९ सिमलताल असार २८ गते बिहान त्रिशूली नदीमा खसेको थियो । दुवै बसमा गरी करिब ६५ यात्री रहेका थिए । बागमती प्रदेश–०३–००१ ख २४९५ नम्बरमा बसमा रहेका नन्दन दास, सुरजप्रसाद गुप्ता र जगेश्वर यादव भने बसबाट हाम फालेर ज्यान जोगाउन सफल भएका छन् । भरतपुर महानगरपालिका–२९ स्थित सिमलतालमा पहिरो खस्दा दुईवटा यात्रुवाहक बस त्रिशूलीमा खसेको थियो ।