नयाँ दिल्ली, असार ८
भारतमा कोभिड–१९ संक्रमित हुनेको संख्या एकै दिनमा अत्यधिक देखिएको छ । पछिल्ला केहीदिनमा सार्वजनिक भएका दैनिक विवरणहरुमध्ये आइतबार सवैभन्दा धेरै जना एकै दिनमा संक्रमित भएको जानकारी दिइएको छ । सरकारी अधिकारीहरुले बताएअनुसार, भारतमा पछिल्लो २४ घण्टामा १५ हजार ४१३ जना कोरोनाभाइरसबाट संक्रमित भएका छन् ।
योसँगै भारतमा आइतबार सम्ममा कोरोना भाइरसबाट संक्रमितहरुको संख्या कुल चार लाख दश हजार ४ सय ६१ पुगेको छ । भारतको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले भारतमा कोरोनाभाइरसका कारण मृत्यु भएकाहरुको संख्या १३ हजार २ सय ५४ पुगेको छ । भारतमा कुल संक्रमितमध्ये एक लाख ६९ हजार ४ सय ५१ जना अझै पनि संक्रमित अवस्थामै रहेका छन् भने दुई लाख २७ हजार ७ सय ५६ जना संक्रमणमुक्त भएका छन् ।
प्रदेशगत रुपमा हेर्दा सवैभन्दा धेरै संक्रमित रहेको महाराष्ट्र प्रदेशमा एक लाख २८ हजार २०५ जना संक्रमित भएका छन् । ती मध्ये ५८ हजार ६८ जना अझै पनि संक्रमित अवस्थामै रहेका छन् भने ६४ हजार १५३ जना संक्रमण मुक्त भएका छन् । महाराष्ट्र प्रदेशभरी कोरोनाभाइरसका कारण अहिलेसम्म पाँच हजार ९८४ जनाको मृत्यु भएको छ । त्यसैगरी तमिल नाडु प्रदेशमा ५६ हजार ८४५ जना कोरोनाभाइरसबाट संक्रमित भएको मन्त्रालयले जनाएको छ ।