काठमाडौं । नवनियुक्त कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले सरकारले घोषणा गरेको कृषि दशकमा लगानी जुटाउनेसम्बन्धी निर्णयमा हस्ताक्षर गरेका छन् । सिंहदरबारस्थित मन्त्रालयमा सोमबार पदबहालीपछि उनले कृषि दशक सफल बनाउन आवश्यक लगानी जुटाउनेसम्बन्धी निर्णयमा हस्ताक्षर गरेका हुन् । मन्त्री अधिकारीले कृषि क्षेत्रको विकास भएमा मात्र मुलुकको विकासमा ठूलो सहयोग पुग्ने भएकाले सोहीअनुसार क्रियाशील हुन सम्बद्ध कर्मचारीलाई निर्देशन दिए । गाउँमात्र नभई खेतीयोग्य तराईका फाँटसमेत बाँझो भएकाले त्यहाँ उत्पादन गराउन मन्त्रालय लागिपर्ने उनको भनाइ छ । ‘सांसद हुनुअघिसम्म आफूले खाने अन्न आफैँ उत्पादन गर्थेँ, गोलभेँडा, धान, मकै, कोदो उत्पादन गर्ने तरिका मलाई पनि थाहा छ’, उनले भने, ‘अब हरेक नेपालीलाई आफ्नो खेतीयोग्य जमिनको उपयोग गर्न अभिप्रेरित गर्नुपर्नेछ । यसकार्यमा मन्त्रालयले आवश्यक सहजीकरण गर्नुपर्ने खाँचो छ । हामी सबै मिलेर यसमा काम गर्नुपर्छ ।’ पदभार ग्रहणका लागि मन्त्रालय जानुअघि उनलाई धर्नामा बसेका कृषि प्राविधिकले आफ्ना समस्याका बारेमा जानकारी गराएका थिए ।
कर्मचारीका समस्या सुनेपछि मन्त्री अधिकारीले यस विषयमा अध्ययन गरी उपयुक्त निर्णय लिने प्रतिबद्धता समेत जनाएका थिए । पदभार ग्रहणका क्रममा आयोजित कार्यक्रममा मन्त्रालयका सचिवद्वय डा दीपक खराल र डा. राजेन्द्रप्रसाद मिश्रले भए गरेका गतिविधिबारेमा मन्त्री अधिकारीलाई जानकारी गराएका थिए ।